नेकपाका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता : देश र जनताका निम्ति पार्टी र सरकार मिलेर अघि बढ्ने सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री तथा नेकपा (माओवादी )केन्द्रका अध्यक्ष प्रचण्डबीच शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा देशको राजनीतिक अवस्था र त्यसको निकासको बिषयमा गम्भीर छलफल भएको बताइएको छ। उक्त भेटवार्तामा देशमा देखिएको खराब अवस्थालाई राम्रो अवस्थामा बदल्न सरकार र दुवै पार्टीले गम्भीर ढंगले सोच्नु पर्ने बिषयमा छलफल भएको थियो ।
यसैगरी, उक्त भेटवार्तामा राष्ट्र र जनताका पक्षमा दुवै पार्टी र सरकारले पहलकदमी लिने र तारतम्य मिलाएर अघि बढ्नु पर्ने बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा राज्यले देश र जनाताको हितका निम्ति तमाम जालझेल र षड्यन्त्र चिर्दै दृढतापुर्वक प्रभावकारी ढंगले कार्य अगाडी बढाउनु पर्ने र यसका निम्ति सरकार र दुवै पार्टी मिलेर अगाडी बढ्ने सहमतिसमेत भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न गठित कार्यदलले अहिलेसम्म गरेका कार्य प्रगति र कार्य सम्पादनको बिषयमा छलफल भएको र सो बिषयमा कार्यदलले छिट्टै प्रतिबेदन तथा आफ्नो अबधारणा सरकार समक्ष पेश गर्ने बिषयमा समेत छलफल भएको बताइएको छ।
देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त र जटिल बन्दै गइरहेको समयमा दुई पार्टी (नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी )केन्द्र ) र सरकारबीच निरन्तर घनिभूत ढंगले छलफल चल्नु राजनीतिकरुपमा निकै अर्थपूर्ण रहेको बुझिएको छ।

स्मरणीय छ, २०७७ फाल्गुन २१ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिमा दुवै पक्ष– नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न, नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको थियो ।
यो तीन बुँदे सहमतिको नेपाल कम्युनिष्ट पार्टीले अक्षरश: पालना गरे पनि सरकारले सो सहमति कार्यान्वयन गरेको छैन । सोही सहमतिलाई अक्षरश : कार्यान्वयन गर्न गत पुष १३ गते, शुक्रबार कार्यदल गठन गरिएको थियो । जसमा नेपाल कम्युनिष्ट पार्टीको तर्फवाट प्रवक्ता प्रकाण्ड सी , स्थायी समिति सदस्य शिलु सी , वरिष्ठ अधिवक्ता एकराज भण्डारी र सरकारको तर्फवाट नेकपा (माओवादी )केन्द्रका उपमहासचिव बर्षामान पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेता माधव सापकोटा रहेका छन्।