क्रान्ति अपरिहार्य

२०८१ मंसिर १४ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा कम्युनिस्ट क्रान्ति अपरिहार्य भएको ठोकुवा गरेका छन् । बिहिवार नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशको कार्यालय पोखरामा उद्घाटन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले समाजमा कम्युनिस्ट पार्टी र क्रान्ति किन आवश्यक छ भन्ने बारे चर्चा गर्दै अहिले पनि समाजमा श्रम गरेर खाने जनताहरु पीडित र अपमानित हुनुपर्ने र सत्ता कब्जा गरेर बसेको एउटा निश्चित बर्गको हालीमुहाली चलिरहेकोले यसलाई बदल्न कम्युनिस्ट पार्टी जरुरी रहेको बताए। उनले कम्युनिस्ट पार्टी र क्रान्तिले मात्रै नयाँ सस्कृती र नयाँ सभ्यता निर्माण गर्न संभव रहेको र बिश्वमा कहि नभएको जातीय उत्पीडन समेत नेपालमा भएकोले यसलाई बदल्न कम्युनिस्ट क्रान्ति अपरिहार्य रहेको बताए ।
महासचिव विप्लव सीले तीन बुदे सहमति कार्यान्वयन गर्ने वा नगर्ने भन्नेबारे सरकारले मुख खुल्नुपर्ने समय आएको बताउदै सहमति पालना इमानदारीतापूर्वक नगर्ने हो भने आफूहरुले नयाँ ढङ्गले सोच्नुपर्ने बेला आउन सक्ने चेतावनी दिए । उनले भने -” तीन बुँदे सहमति लागू गर्ने हो कि होइन, छिटो बोल्नुहोस,राज्य इमानदार छ र जनताका कुरा सुन्न चाहन्छ भने छिटो बोल्नुहोस । होइन भने हामीले नयाँ ढङ्गले सोच्नुपर्ने बेला आउन सक्छ किनकि हामी घाटीमा तरबार झुण्ड्याएर बिबसतापूर्वक बाँच्ने मान्छे होइनौं”
महासचिव विप्लव सीले नेकपाले उठाउदै आएका कुराहरू कुनै व्यक्ति विशेष वा पार्टी विशेषका कुराहरू नभएको बरु देश, श्रमजीवी जनता, मजदुर, किसान, जातजाति र उत्पीडित जनताका मुद्दामा लडिरहेकोले सरकारले बहानाबाजी र छलफल गर्न जरुरी नरहेको बताए।
महासचिव विप्लव सीले तत्कालीन ओली सरकारले नेपाल कम्युनिस्ट पार्टी माथी प्रतिबन्ध लगायको बेला आस्थाका आधारमा लगाइएका मुद्दाहरु खारेज नभएको , बन्दीहरूको रिहाई प्रक्रिया अझै पूरा नभएको र १५ जना नेताकार्यकर्ता जेलमा रहेको तथा केहि दिन अघि थप २ जना कार्यकर्तालाई पक्राउ गरिएको बिषय गम्भीर भएको भन्दै तीन बुदे सहमतिको कार्यान्वयनमा राज्य इमानदार हुनु पर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]