‘समाजवादी व्यवस्थाको एजेन्डासहित निर्वाचनमा जान्छौ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेकपा समाजवादी व्यवस्थाको एजेन्डासहित निर्वाचनमा जाने उद्घोष गरेका छन् । बुधबार सहिद स्मृती आवासीय माध्यामिक बिधालय दाङमा अध्ययनरत सहिदका सन्ततिलाई सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन्।
महासचिव विप्लव सीले ०८४ को निर्वाचनमा नेकपा सहभागी हुने बताउदै भने- ‘आगामी चुनावमा नेकपा पनि लड्छ । हामी यो दलाल पुजीवादको विकल्पमा समाजवादी व्यवस्थाको एजेन्डा सहित निर्वाचनमा जान्छौं । एकपटक संसद , सडक दुबै ठाउँबाट जनताको पक्षमा लड्ने चाहना छ । ०८४ को निर्वाचनलाई समाजवादी अभियानको रुपमा हेरेका छौं । ’
महासचिव विप्लव सीले मुलुकमा जनताको सत्ता प्राप्तिको लडाइँ जारी रहेको बताउदै भने– ‘तपाईंहरुका बुवाआमाको बलिदानले यो देशमा गणतन्त्र आएको छ । गणतन्त्र प्राप्त गर्न सबैभन्दा ठूलो योगदान माओवादी जनयुद्धको हो र त्यसमा सहादत प्राप्त गर्ने महान सहिदहरुको हो । गणतन्त्र त आयो तर यो मुठ्ठीभर दलालहरुको कब्जामा गएको छ । अहिलेपनी सत्ता आम नेपाली श्रमिक जनताको बन्न सकेको छैन् । त्यसकारण जनताको राज्य बनाउने आन्दोलन जारी छ । यो गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्ने आन्दोलन जरुरी छ , यसको नेतृत्व हाम्रो पार्टीले गर्छ । आज नेपालमा राजनीति गर्नुहुदैन भन्ने भाष्य जबर्जस्त खडा गरिएको छ । बिद्यार्थीले राजनीति गर्नुहुँदैन भनिन्छ। बिद्यार्थीले राजनीति गर्नुपर्दछ तर दलालहरुको सेवा गर्न होइन । तपाइँहरुले राजनीति जनताको सेवा गर्न गर्नुपर्दछ । युवाहरुले यहीँ देशमा भविष्य देख्नुपर्दछ। आज बिदेश बिदेशको हल्ला चलाइएको छ । यो दुसित हल्ला हो , हावा कुरा हो यो । हामिले आफ्नै पसिना र पौरखले यो मुलुकलाई समृद्ध बनाउने गरि अभियान छेड्नुपर्छ। ’
उक्त अवसरमा महासचिव विप्लव सीले बिधालयका बिबिध प्रकारका समस्याहरु समाधान गर्नको लागि पार्टीले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा सहिद स्मृति आवासीय माध्यामिक बिधालय तुलसीपुर -१७ बनकट्टिका प्रधानाध्यापक नारायण पौडेलले बिधालयको प्रतिवेदन नेकपाका महासचिव विप्लव सीलाई हस्तान्तरण समेत गरेका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टी केन्द्रीय सदस्य सम्झना सी , पार्टी केन्द्रीय सदस्य प्रदिप सी , तिलक सी , बिधालयका प्रअ एवम शिक्षक-शिक्षिकाहरुको आतिथ्यता रहेको थियो ।