संसदवादी चुनाव खारेज-जनताहरुको बिद्रोह
….शान्तिपूर्ण अपिल माथि बन्दुकको रवाफ व्यक्त गर्न खोजिन्छ भने जनताले बन्दुकहरु भांचेर, षड्यन्त्रहरुलाई कुल्चिएर, जनविरोधीहरुलाई घोक्राउँदै, उच्च मनोवलका साथ जनताको चाहनाको नेतृत्व गर्नु पर्छ ।”
आगामी मंसीर ४ गते संसदवादीको चुनाव घोषणा गरिएको छ । अर्कोतर्फ बद्नाम संसदीय ब्यवस्थाको बिकल्प दिएर निरन्तर संघर्ष गरिरहेको हाम्रो पार्टी र संवद्ध मोर्चाले यस चुनावलाई जनता झुक्याउने कथित चुनाव भन्दै खारेज गर्ने घोषणा गरेको छ । नेपाली जनताले परिवर्तनको पक्षमा खेलेको भूमिका र बलिदानको मूल्यलाई झुत्रो पारेर शृंखलाबद्ध रुपमा बिदेशीलाई नेपाल बेच्ने, भ्रष्टाचार र जनताले पचाउनै नसक्ने काण्डहरु गर्ने, समाजलाई क्षतबिक्षत पार्ने संसदवादीहरुको कुरुप अनुहारप्रति जनतामा उच्च घृणा रहेको पाईन्छ । जनताको यो घृणाको अन्तर्यमा भिषण बिद्रोहको ज्वालामुखी सलबलाई रहेको स्पष्ट देख्न पाईन्छ । देशलाई सबै हिसावले टाट पल्टाएर एमसिसिलाई देश जिम्मा लगाईसकेका र एमसिसि, एसपिपि जस्ता राष्ट्रघाती दुष्कर्मप्रति गौरव गर्ने संसदवादीहरुबाट नेपाली जनताले छुटकारा पाउन चाहेका छन् । जनस्तरमा मडारिएको बिद्रोह सडकसम्म आउने, राज्यको दमनबिरुद्ध प्रतिरोध गर्ने र बिजयतर्फ अगाडि बढ्दै आफ्नो सत्ता निर्माण गर्नेमा जनताहरु तयार भएको पाईन्छ ।
वास्तबमा यतिबेला चुनाव होइन राम्रोसँग देख्न सक्ने हो भने बजारमा बिद्रोह चलेको छ । कोही जनता पनि यो निर्वाचनप्रति उत्सुक र उत्साहित छैनन्, यति मात्र होइन संसदवादीका बदनाम अनुहारप्रति जनताको खेद रहेको छ । हाम्रो पार्टीले घोषणा गरेको चुनाव खारेजको अभियानले जनताहरुको बीचमा रहेको यही बिद्रोहलाई नेतृत्व प्रदान गर्ने छ । त्यसैले यतिबेला संसदवादीहरुको कथित चुनाव र जनताको तर्फबाट हुन गईरहेको खारेज संघर्ष आमने–सामने भएका छन् । सरकारको गृहमन्त्री अतालिएर जनताको तर्फबाट हुने बिरोधलाई दमन गर्ने भाषा बोल्ने ठाउँमा पुगेका छन् । सरकारले दुरुपयोग गर्दै आएको सुरक्षा संयन्त्र चुनाव खारेज गर्ने जनताको आवाजलाई दबाउन जनताको नेतृत्व बिरुद्ध षड्यन्त्र गर्ने राज्यको योजनाको मतियारी गर्ने स्थितिमा पुगेका छन् । तर, जनताको तर्फबाट हुन गइरहेको चुनाव खारेज अभियान अझ सशक्त रुपमा अगाडि बढिरहेको छ । र, यसलाई सशक्त रुपमा अगाडि बढाईने छ, जनतालाई चुनाब खारेज गरौं भनेर गरिएको शान्तिपूर्ण अपिलबिरुद्ध दमनको डण्डा बर्साइन्छ भने जनस्तरबाट प्रतरोध हुनेछ । जनताको बिद्रोह र प्रतिरोधलाई सामान्य बुझ्ने भुल सत्तामा बसेकाले गर्नु हुँदैन । यतिबेला पैसा, प्रलोभन र राज्य श्रोतको बेलगाम दुरुपयोग गर्दै यसैको बलमा जनताको आवाजमाथि बन्दुकको नाल तेर्साएर तयार गर्न खोजिएको चुनाबि माहौलभन्दा जनताले कथित चुनाबबिरुद्ध प्रकट गरेका बिद्रोही आवाजहरु कैयौं गुणा शक्तिशाली छन् र यसमा संसदवाद होइन, नेपाली जनताको बिजय नै अगाडि देखिन्छ । बरु, संसदवादीहरुको दमनकारी हतकण्ठाले उनीहरुको रुन्चे र फिक्का जिवन आफ्नो पतन अगाडि अन्तिम उत्सव मनाउन प्रयत्नशिल छ भन्न सकिन्छ ।
के संसदवादीहरुप्रति र उनीहरुको यो कथित चुनावप्रति जनताको आकर्षण छ ? जनतामा खारेज अभियान लिएर हामी पुगिरहेका छौं । जनताले खारेज अभियानलाई स्वागत गरेका छन् तर संसदवादीहरुको चुनावी प्रचारलाई थुकिरहेका छन्, दुत्कारेका छन् । ५ बर्षसम्म राजनैतिक स्थिरता, बिकास र समृद्धको म्याण्डेट दिएर पठाएका संसदवादीहरुले स्थानिय स्तरदेखि केन्द्रसम्म ठूला–ठूला भ्रष्टाचार, राष्ट्रघात, जनघात गरे । के यो जनताले बुझेका छैनन् त ? जनताले प्रश्न गरेका छन्— एमसिसि किन पास ग¥यौ ?, भारतिय तर्फबाट अतिक्रमित लिपुलेक, लिम्पियाधुराको रक्षा किन गर्न सकेनौ ?, बालुवाटार स्थित सरकारी जग्गा किन बेचेर खायौ ?, सरकारी जग्गा यति कम्पनीलाई किन दियौ ?, मेडिकल उपकरणमा भएको तीन अर्व भ्रष्टाचारको जवाफ खोई ?, वाईडबडी खरिदमा भएको छ अर्व भ्रष्टाचारको जवाफ ?, ओम्नि समूहलाई कमिशनको खेलमा स्वास्थ्य सामग्री ल्याउन ठेक्का दिएको विषय ?, अनुदानको स्वास्थ्य सामग्री छोडेर नक्ली स्वास्थ्य सामग्री खरिद ?, राष्ट्रि गौरवको आयोजनाबाट लिएको अरवौं कमिशन ?, गोकुल बास्कोटाले सेक्युरिटी मेशिनमा गरेको ७० करोडको बार्गेनिङ्ग काण्ड ?, संसद अपहरण ?, निर्मला काण्ड ?, खुल्लामंचमा भोकाहरुलाई खाना बितरण समेत गर्न नदिएका काण्ड ?, लिम्पियाधुरा समावेश भएको पुस्तक बितरणमा रोक ?, कोभिडको बेला गरेको भ्रष्टाचार र जनतामाथिको सास्ती ?, राष्ट्रपतिलाई अरवौंको हेलिकप्टर ?, अपराधीहरुलाई निरन्तर मन्त्रिमण्डलामा सहभागिता ?, हतियार खरिद प्रकरण ?, नागरिकता बिधयेक प्रकरण ?, अमेरिकालाई देश जिम्मा लगाउन एमसिसि, एसपिपिमालाई लागू गर्ने निरन्तरको प्रयास ?, स्वतन्त्र तिव्बत प्रकरणमा मुछिएका संसदलाई मन्त्री बनाउने प्रकरण ?, भारतको बिशेष दुतमा आरजु राणालाई पठाएको ?, नियुक्तिमा जालझेल गरेको ?, सुकुमवासीका झुप्राहरुमा डोजर र आगो लगाएको ?, दलितहरुलाई सामुहिक हत्या गरिएको ?, महिलाहरुमाथि अत्याचार भएको ?, मजदुरमाथि अन्याय र शोषण भएको ?, महङ्गी, मूल्यबृद्धि, भ्रष्टाचार यस्ता काण्ड जताततै भएको ?, बिदेशमा मजदुरी गर्न बाध्य नेपालीहरुले पाउनु परेका दुख ?, आदि यस्ता धेरै प्रश्नहरु जनतासँग छन् । यिनै प्रश्नहरु जनताले गरिरहेका छन् । जनताको प्रश्नको उत्तर दिन सक्ने नैतिक तागत गुमाएको जुवाडे संसदवादीहरु यतिबेला आपूmले पालेर राखेका आवाराहरुलाई लिएर गाउँ टोल जाने प्रयत्न गरिरहेका छन् । जनताले उनीहरुलाई देख्ने बित्तिकै आयो भ्रष्टाचारी, दलाल, चोर भन्ने स्थिति बनेको छ । लाज पचाएर अमेरिकनहरुले टिकाईदिएको नेपाल देश ध्वस्त गर्ने संसदवादी व्यवस्थाको वकालत गर्दै, मन्त्री हुने, मोज गर्ने , ठाटिएर हिड्ने शकुनी सपना देख्दै संसदवादी हुतिहाराहरु गाउँ–गाउँ आईरहेका छन् । उनीहरुलाई कुनै मतलब छैन यो देशको, नेपाली जनताको, नेपाली सपनाको, परिवर्तन र बिकासको । किनकि लुटेरा पुँजीवादीहरुको जुवाखालमा घोटिएका यिनीहरुलाई कसरी ओली मालिक, देउवा मालिक, प्रचण्ड मालिकको सबैभन्दा बिश्वास पात्र हुने ? कसरी अमेरिकी दुतावास र भारतिय दुतावासको नजिक हुने ? कसरी माफियाहरुसँग मित लगाउने यही चिन्ता छ । उनका मालिकहरुलाई अमेरिकन र भारतिय प्रभुहरुलाई कसरी रिझाउने सत्ता टिकाएर आपूm लुटपाटको भट्टीमा जोतिएर लरवरिरहने यही चिन्ता छ ।

के जनताले यो कुरा बुझेका छैनन ? — जनताले राम्रोसँग यो कुरा बुझेका छन् । यिनै बिदेशीका पाल्तु दलाल संसदवादीहरुले राज्य श्रोतको दुरुपयोग गरेर, आफ्ना सुण्ड÷मुसुण्डहरुलाई प्रयोग गरेर जनतालाई भ्रमित गर्न प्रयत्न गर्छन । यद्यपि जस्तासुकै भ्रम र षड्यन्त्रको बावजुत पनि जनता यो दलाल पुँजीवादी संसदीय व्यबस्थाको अन्त्य नगरेर यो देशको रक्षा र समृद्धि सम्भव हुँदैन भन्ने बुझाईमा स्पष्ट भैसकेका छन् । जनताको बीचमा यो व्यवस्था बिरुद्ध भयानक बिद्रोह बिस्फोट हुन तयार भएर बसेको जोकोहीले बुझ्न सक्छौं । यो देशलाई वैज्ञानिक समाजवाद चाहिएको छ, वैज्ञानिक समाजवाद स्थापनाको निम्ति हाम्रो पार्टी निरन्तर संघर्षमा छ । हाम्रो पार्टीसँग भएको सहमतिअनुसार शान्तिपूर्ण रुपमा निकास दिन यदि राज्य तयार भएको भए, वैज्ञानिक समाजवाद कि ? पुँजीवादी संसदिय व्यवस्था ? यसमा चुनाव हुन्थ्यो । तर, जनताको बीचमा यो व्यवस्थाको बिरुद्ध बिद्यमान बिद्रोहलाई बुझेको अमेरिकनहरुको दलाली गरिरहेको यो व्यवस्था र यसका बफदार कारिन्दाहरु हाम्रो प्रस्तावसँग तर्सिए । उनीहरुले बिद्रोह अझ सशक्त हुने देखेपछि, जनतासँगको हाम्रो सम्बन्ध देखेपछि, कार्यनीतिहरुको बुद्धिमत्तापूर्ण प्रयोग देखेपछि अत्तालिएर हाम्रो पार्टीलाई घेराबन्दी गर्ने, बाहिरबाट आक्रमण र भित्रबाट लिनप्याओवादीहरुलाई षड्यन्त्र गर्न उक्साउने । पार्टीको नीति र नेतृत्वबिरुद्ध हमला गर्ने जस्ता घिनलाग्दा खेलहरु निरन्तर हुँदै आएका छन्, गरिँदै आईए । हाम्रो पार्टीले यस्ता षड्यन्त्रहरुलाई परास्त गर्दै एकीकृत जनक्रान्तिलाई अगाडि बढाईरहेको छ । जनतामा अन्र्तनिहीत बिद्रोहको नेतृत्व हाम्रो पार्टीले गर्छ र राज्यले शान्तिपूर्ण निकास निकाल्ने वातावरण नबनाएर दमनलाई अगाडि बढाउँछ भने भिषण प्रतिरोधको दिशातर्फ मुलुक जाने पनि निश्चित नै छ । यस्ता फगत चुनाव होइन यो देशलाई व्यवस्थाको बिकल्प चाहिएको छ । जनतालाई देश र आफ्नो हित गर्ने आफ्नो सत्ता चाहिएको छ । भित्र भित्र श्रीलङ्का बनिसकेको यो देशलाई जँड्याहा संसदवादीहरुले फेरि यही व्यवस्था, यस्तै चुनाव र प्रभुले दिएको केही अरव भिकले टिकाईराखौंला भन्ने लाग्नु खेदजनक छ । उनका प्रभुहरुले सत्तामा देखिएको भयानक संकट क्रान्तिमा नबदलियोस भनेर जनतालाई भ्रमित गर्न स्वतन्त्र नामका दासहरुलाई पनि चुनावमा खडा गराएको छ । स्वतन्त्रको नाममा चुनावमा देखिएका केही अनुहार यो देशको निम्ति निकै घातक छन् । यस्तासँग पनि जनता सचेत हुन जरुरी छ ।
अतः यो देशमा नेपाली जनताले बगाएको रगत र पसिनाको मूल्यलाई अवमूल्यन गरेर यो देशलाई सिक्किमीकरण गर्ने, अमेरिकन प्रभुत्वलाई देश जिम्मा लागाईदिने, बेलगाम भ्रष्टाचार र लुटपाटमा लाग्ने, ठूलाठूला अपराध गर्ने, नेपाली जनतालाई बिदेशका गल्लिहरुमा रुँदै र मर्दै हिँड्न बाध्य पार्ने, महिला दिदीबहिनीहरुलाई बिदेशमा बेच्ने, देशको श्रोत साधन बिदेशीलाई जिम्मा लगाउने र जनतालाई चौतर्फी संकटको कालो सुरुङ्गमा कोच्ने यो संसदिय व्यवस्था र यो व्यवस्थाले तयार गरेका झुटा र ठग पात्रहरु हुन् । नेपाली जनता यो स्थितिबाट मुक्त हुन चाहन्छौं भने हामीले यो व्यवस्थालाई ध्वस्त गर्न जरुरी छ । यो व्यस्थालाई ध्वस्त गर्न र वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिको बाटोमा अगाडि बढौं । जनताकोहरुको बीचमा मडारिएको तर बिस्फोट हुन आतुर बिद्रोहलाई चुनाव खारेजमा व्यक्त गरौं । लुटेको धन प्रयोग गरेर चुनावी भिड तयार गरे पनि जनताको मन यो चुनावमा सहभागी हुन मानेको छैन । हामीले जनताको यही साँचो र भित्री चाहनाको नेतृत्व गर्ने हो । चुनावमा सहभागी हुनेहरुकै पनि भित्री चाहना यो व्यवस्थाको पतन र जनताको सत्ता निर्माणसँग जोडिएको छ यसको नेतृत्व हामीले नै गर्ने हो । सबै जनताले बिकल्प चाहेका छन् । हामीले वैज्ञानिक समाजवादलाई दुनियाँको कान खुल्ने गरी गर्जनसहित उचाईमा उठाउनु पर्छ । खारेज अभियानमा सशक्त रुपमा लागौं । शान्तिपूर्ण अपिल माथि बन्दुकको रवाफ व्यक्त गर्न खोजिन्छ भने जनताले बन्दुकहरु भांचेर, षड्यन्त्रहरुलाई कुल्चिएर, जनबिरोधीहरुलाई घोक्राउँदै, उच्च मनोवलका साथ जनताको चाहनाको नेतृत्व गर्नु पर्छ । हामीसँग जनता छन्, संसदवादीहरुसँग भेडाहरुको भिड र आवराहरुको झुण्ड छ । अन्त्यमा जित उसैको हुन्छ, जोसँग जनता हुन्छन् ।