आदरणीय आमा आशिकादेवी चन्दप्रति हार्दिक श्रदाञ्जली

२०७९ पुष ४ गते, सोमबार

सञ्जीव सी

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड विप्लव सीका ममतामयी आमा आशिकादेवी चन्दको गएको मङ्सिर १७ गते शिवराज नगरपालिका–९ भगवानपुर स्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएकोछ । रुकुम जिल्लाको तत्कालिन रुघा गाउँ पञ्चायतमा वि.सं. १९८६ वैशाख २१ गतेमा जन्म र वाल्यकाल विताउनु भएको थियो । आदरणीय स्वर्गीय आमा आशिकादेवी चन्दको वुवा दिनाराम घर्ती मगर तत्कालिन रुघा गाउँ पञ्चायतको मुखियाको रुपमा राजनीति र समाजसेवामा हुनुहुन्थ्यो । एउटा राजनैतिक र सामाजिक सेवामा रहेको परिवारका सदस्य हुनुका नाताले तत्कालिन अवस्थामा आमा आशिकादेवी चन्दले सामान्य साक्षरता हासिल गर्नु भएको थियो । तत्कालिन अवस्थामा साक्षर हुनुपनि ठूलै कुरा मानिन्थ्यो । रोल्पा जिल्लाको तत्कालिन थुनिकोट गाउँ पञ्चायत–६ केवरीमा स्वर्गीय बुवा चित्रबहादुर चन्दसँग वि.सं. २०१० मा वैवाहिक सम्बन्धमा बाँधिनु भएका आमा आशिकादेवी चन्द तीन छोरा र तीन छोरी गरी छ सन्तानकी आमा हुनु हुन्थ्यो । विसं २०४५ मा रोल्पा इरिबाङ केवरीबाट कपिलवस्तु जिल्लाको तत्कालिन शिवगढी गाविस हाल शिवराज नगरपालिका–९ मा सपरिवार बसाइ–सराई गर्नु भएका आमा आशिकावेवी चन्द वास्तवमा प्रगतिशिल चेतानाका रुपमा रहनु भयो । झण्डै एक शताब्दीको सक्रिय जीवन व्यतित गर्नु भएका आमा आशिकादेवी चन्दले तत्कालिन राणा शासनमा जन्मनु भई एकदलीय पञ्चायती व्यावस्था, सम्वैधानिक राजतन्त्रसहितको संसदीय वहुदलीय व्यावस्था हुँदै हाल संघीय गणतन्त्र नेपालको शासण व्यावस्था गरी चारवटा राजनैतिक व्यवस्थाको अनुभव गर्नु भएको थियो । हरेक व्यवस्थामा अघिल्लो अर्थात् अग्रगामी राजनैतिक धाराको पक्षपोषण गर्नु भएका आमाको प्रगतिशील विचारका कारण तीनजना छोराहरु नै लगातार क्रान्तिकारी राजनीतिमा सक्रियतापूर्वक सहभागी रहनु भएको छ । एउटा संजीव विरुवालाई उचित प्रकारको तापक्रम र हावापानीसहित रेखदेख गरेमा सही ढङ्गले हुर्केझैं वुवा–आमाको उचित रेखदेख, सुझवुझ र वातावरणका कारण आज उहाँका छोराहरु क्रान्तिकारी विचारसहित निरन्तर क्रान्तिमा रहनु भएको छ । यस अर्थमा आमा आशिकादेवी चन्द हामी सबैकी आमा, प्रगतिशील चेतना र व्यावहारको संयोजनका रुपमा रहनु भएका एक निर्भिक आमा हुनुहुन्थ्यो ।

आमाको निधन र नयाँ संस्कृतिको थालनी:

हाम्रो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको अग्रगामी र क्रान्तिकारी धाराको रुपमा स्थापित पार्टी हो अथवा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सपना साकार पार्न अगाडि बढिरहेको पार्टी हो । हाम्रो पार्टीसँग साढे सात दशक लामो नेपाली कम्युनिष्ट आन्दोलनका सकारात्मक र नकारात्मक अनुभव र शिक्षाहरुका साथै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका पौने दुई सय वर्षका क्रान्ति र प्रतिक्रान्तिका महत्वपूर्ण शिक्षाहरु रहेका छन् । यसका साथै आजको भूमण्डलीकृत पुँजीवादका विशेषताहरु, यसले उत्पन्न गरेका क्रान्तिका चुनौती र अवसरहरु, नेपाली समाजको विशेषता र आजको प्रधान अन्तरविरोधहरुको समाधानका लागि मालेमावादी विज्ञान र कार्यदिशामा विकास गर्नु पर्ने अपरिहार्य आवश्यकता पैदा भएको छ । सन् ७० को दशकपछि विश्वव्यापी रुपमा मालेमावादी विज्ञानको विकासको अभावमा कम्युनिष्ट पार्टीको अगुवाईमा सञ्चालन गरिएका समाजवादी क्रान्तिहरु सम्पन्न हुन सकेनन् । नेपालको जनयुद्धले आज जुन अवस्थाको सामना गरिरहेको छ त्यसका पछाडि मूल रुपमा मालेमावादी विज्ञानको विकास गर्न नसक्नुमा अन्तरनिहित रहेको छ । जसको परिणाम स्वरुप जनयुद्धका मुख्य नायकहरुले संसद्वादका सामु आत्मसमर्पण गर्न पुगे । यी सबै घटनाक्रमहरुको अध्ययन गर्दै हाम्रो पार्टीले भर्खरै सम्पन्न नवौँ महाधिवेशनबाट मालेमावादी विज्ञानको तीन सङ्घटक अङ्गमा विकास गर्नुका साथै कम्युनिष्ट संस्कृतिको निर्माण गर्ने प्रयत्न गरेको छ । अक्सर नेपाली कम्युनिष्ट आन्दोलनमा सत्ता र संस्कृतिको पक्षलाई सुदूर भविष्यको विषय वनाउने गरेको पाइन्छ र घुमिफिरी रुम्जातार भनेझैं पुरानै संस्कार र संस्कृतिमा रमाउने अवस्था बन्दै आइरहेको छ । अर्कोतिर क्रान्तिकारीको नाममा जनताबाट अलग्गिने अलगाववादी रुझानहरु पनि देखा पर्दछन् । हामीले यी दुवै गलत प्रवृतिबाट मुक्त भएर आमजनतासँग एकाकार हुने जिम्मेदारीका साथ अगाडि बढिरहेका छौं । यसमा पनि पहिलो र महत्वपूर्ण कुरा हामीले सी अर्थात् साम्यवादी जातिको निर्माण गर्ने निर्णय गरेका छौं । पृथ्वीनारायण शाहले नेपाललाई चार जात छत्तीस वर्णको पूmलवारीका रुपमा चित्रण गरेका थिए । हाल नेपालको जातीय सूचकाङ्मा १२५ जाति–जनजाति, लोपोन्मुख–सीमान्तकृत र अल्पसंख्यक रहेको तथ्याङ्क रहेको छ । ती सबैमा मूलतः चारवटा जातीय कलष्टरहरु–खस आर्यन, जनजाति, मधेशी र श्रमिक समुदाय मुख्य रहेका छन् । यी सबैका आ–आफ्ना धर्म, सँस्कार–सँस्कृति, भेषभुषा र रहनसहन रहेका छन् । यो लामो समयदेखि चल्दै आइरहेको छ । हामी कम्युनिष्ट हुनुका कारण माथि उल्लेखित जातीय र सांकृतिक मूल्यबाट माथि उठनु पर्दछ । किनकि कम्युनिष्ट जाति भनेको अन्तर्राष्ट्रिय जाति हो । यसमा ठूलो–सानो जातिको कुनै सम्बन्ध हँुदैन । अहिले हामीले पार्टीभित्रबाट सी जातिको निर्माण गरेका छौं । सी जातिको आफ्नै प्रकारको मौलिक एवं युगानुकूल संस्कार र संस्कृति विकास गरेर लैजाने महाधिवेशनको निष्कर्ष रहेको छ । महाधिवेशनको यो निर्णय कार्यान्वयनको शुरुबाट हाम्रो पार्टीमा पार्टी महासचिबाट नै शुरु हुन पुगेको छ । आमाको निधन दुःखद कुरा हो तर नयाँ संस्कृतिको प्रयोग सुखद कुरा हो । संसारका हरेक वस्तु जन्मेपछि मर्नु पर्दछ यो विज्ञानको साश्वत नियम नै हो । यस अर्थमा मानिस पनि जन्मेपछि मर्नु पर्दछ । हामीले आमाको निधनलाई पनि यसरी नै लिनु पर्दछ र लिएका छौ ।

जहाँसम्म सी जातिको मृत्यु संस्कारको कुरा छ – हामीले मृत्युपछिका पाँच दिनहरु विभिन्न कार्यक्रम गरेर आफन्तको स्मरण गर्ने निर्णय लिएका छांै । जसअनुसार पहिलो दिन–अन्त्यष्टि, दोश्रो दिन – सामाजिक क्षेत्रमा प्रयोग गर्नका लागि अक्षयकोषको स्थापना, तेश्रो दिन – मृतकको सम्मानमा सार्वजनिक या निजी जमिनमा फलपूmल या वृक्षारोपन गर्ने, चौथो दिन – समाजमा रहेका गरिव, असाय, सहिद–वेपता परिवार तथा अपाङ्गहरुलाई लत्ता कपडा वितरण र पाचौं दिन – श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । यस अतिरिक्त अन्य विभिन्न रचनात्मक कार्यक्रमहरु पनि गर्न सकिने छ । आगामी दिनमा सी जातिले यसरी नै मृत्यु संस्कारलाई आम जनतासँग जोडेर अगाडि थप समृद्ध र विकास गर्दै लैजानु पर्दछ । यसका साथै जन्म, विवाहजस्ता सामाजिक क्षेत्रमा गरिने सांस्कृतिक रुपले जनतासँग अभिन्न रुपले जोडिएका पक्षहरुको पनि विकास र प्रयोग गर्दै लैजानु पर्दछ ।

आमाको सपना र क्रान्तिकारीहरुकोे जिम्मेवारी:

करिब एक शताव्दीको उमेर अवस्था र चारवटा शासन व्यावस्थाको अनुभव गर्नु मान्छेका लागि निकै गौरवको विषय हो । विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रक्षेपणअनुसार नेपालीहरुको औसत आयु हाल ६७ वर्ष कायम गरिएको छ । हाम्रा पिता पुर्खाहरुले आजको जस्तो जलवायु परिवर्तनका कारण विकसित भइरहेका समस्याहरु कमै झेल्नु प¥यो । आजको जस्तो विषादीयुक्त खाना खानु परेन अर्थात् उहाँहरुले आफ्नै पौरख र पसिनाले उत्पादन गरेका अग्र्यानिक खाना खानु भयो । यसका साथै उचित प्रकारको खानपान र रहनसहनका कारण आमा आशिकादेवी चन्दले मृत्युपर्यन्त सक्रिय जीवन जिउन सक्नु भयो । जनयुद्धमा तीनैजना छोराहरुको सहभागिताका कारण तत्कालिन सरकारले आमालगायत सम्पूर्ण परिवारहरुलाई मानसिक र भौतिक यातना दिएको थियो भने पछिल्लो पटक जनयुद्धकै सहपाठीहरुको नेतृत्वमा रहेको सरकारले कथित प्रतिवन्धसहित दमन अभियान सञ्चालन गरेको थियो । उक्त दमनका क्रममा पनि प्रहरीहरु घरमा आउने र विभिन्न मानसिक यातना दिने गरेका थिए । आमा एउटा प्रगतिशील विचारका कारण सरकारी दमनको कुनै प्रवाह गर्नु भएन । घरमा कमाउने छोरा नातिहरु सबै राजनीतिमा सहभागी हुँदाका परिणाम परिवारमा यदाकदा देखापर्ने आर्थिक अभाव होस या सरकारी दमनको कारण खेप्नु परेका मानसिक यातना होस सबैमा आमा अव्वल सावित हुनु भएको छ । यस अर्थमा आदरणीय आमा आशिकादेवी चन्द हामी सबैको महान आमा वन्नु भएको छ । कोरियाली उपमहाद्वीपमा राष्ट्रिय मुक्तिको संग्रामको नेतृत्व गर्ने सन्दर्भमा किम इल सुङकी आमाले छोरालाई अतिक्रमणकारीहरुका विरुद्ध लडन पिस्टोल उपहार दिएर छोरालाई लडन प्रेरित गरेका थिए । आमाको उक्त महान् प्रेरणाबाट किम इल सुङलगायत हजारौँ–लाखौँ कोरियाली नागरिकहरु राष्ट्रिय मुक्ति आन्दोलनमा समर्पित बने र कोरिया मुक्त गर्न सफल भए । आमा आशिकादेवी चन्दले आफना छोराहरुलाई जनयुद्ध र एकीकृत जनक्रान्तिमा सहभागी बन्न, नेतृत्व गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । अन्य विभिन्न क्षेत्रहरुमा झै राजनैतिक क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न आमा–बुबा, श्रीमान्–श्रीमतिसहित सपरिवारको ठूलो भूमिका रहेको हुन्छ । आज हाम्रो पार्टीका महासचिव कमरेड विप्लव सी नेपाली क्रान्तिका एक कुशल र युवा नेता हुनुहुन्छ । उहाँको नेतृत्वमा नेपालमा वैज्ञानिक समाजवादी सत्ता स्थापनाको लागि मालेमावादको विकाससहित एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशाको संश्लेषण र प्रयोगको नेतृत्व गरिरहनु भएको छ । नेपाली कम्युनिष्ट आन्दोलनमा यो निकै महत्वपूर्ण रहेको छ । आदरणीय आमा आशिकादेवी चन्द जसले जनता र देशका मुक्तिको लागि आफ्ना सपरिवारलाई अग्रगामी र क्रान्तिकारी दिशामा अघि बढ्न निरन्तर प्रेरणा दिनु भयो । उहाँको सपना साकार पार्न अर्थात् नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि अविरल र अविचलित रुपमा अघि बढिरहनु हरेक क्रान्तिकारी नेता–कार्यकर्ताको दायित्व वनेको छ । यस अर्थमा देश–जनता, पार्टी–क्रान्तिको लागि निरन्तर समाजसेवामा लाग्नु, अफ्ठ्यारो र जटिल परिस्थितिमा पनि दृढतापूर्वक अग्रगामी धाराको नेतृत्व गरिरहनु, शारीरिक र मानसिक रुपमा हरदम सक्रिय रहनु नै आमाको गुणहरुको अनुशरण र सच्चा सम्मान हुने छ । अन्तमा आदरणीय शताव्दी आमा आशिकादेवी चन्दप्रति हार्दिक श्रद्धासुमन ।

प्रतिक्रियाहरु

[anycomment]