राजनीतिक पार्टीहरुमा शुद्धिकरण अभियानको आवश्यकता

२०८१ कार्तिक १७ गते, शनिबार

डा. केशव देवकोटा

हरेक देश र विश्वकै पहिलो अर्थात जेठो नीति भनेको राजनीति हो । त्यसैका आधारमा अरु नीति, संविधान, ऐन कानून र नियमहरु बन्ने गर्दछन् । त्यसैले राजनीतिक वातावरण सधैँ स्वच्छ र सन्तुलित हुनुपर्छभन्ने गरिन्छ । आज विश्वमै प्राकृतिक वातावरण कसरी स्वच्छ र सफा बनाउने भन्नेबारेमा धेरै बहसहरु हुनेगरेका छन् । तर राजनीतिक वातावरणलाई कसरी सफा बनाउने भन्नेबारेमा हरेक देश, विश्व र विभिन्न पार्टीहरुमा छलफल हुनेगरेको छैन । तर त्यसको सख्त आवश्यकता छ । विश्वबिद्यालयहरुमा राजनीतिशास्त्रकाबारेमा अलग्गै अध्ययन–अध्यापन हुनेगरेको छ । जहाँ राजनीतिका विभिन्न वाद र बिचारधारा तथा अन्य सैद्धान्तिक र संगठनात्मक पक्षकाबारेमा व्याख्या र बिश्लेषण गरिएको हुन्छ । राजनीति हेरक देश र स्थान बिशेषको सापेक्ष हुनेभएकाले राजनीतिशास्त्रमा आमरुपमा पढेर मात्र समस्याहरुलाई खुट्याउन सकिंदैन । राजनीति व्यवस्था त्यस्तो व्यवस्था हो, जसले देशको अवस्थासमेत निर्धारित गर्ने गर्दछ । विश्वमा हाल मुख्यत तीन प्रकारको राजनीति अर्थतन्त्र चलेको पाइन्छ । जसमा पूँजीवादी, समाजवादी र मिश्रित त्यसैले राजनीतिको संयोजन पनि सोहीअनुसार गरिएको हुन्छ । खासमा राजनीति राज्यसत्तासँग सम्बन्धित विषय हो । राजनीतिगर्ने भनेको आआफ्नो बर्गसँग सम्बन्धित रहेर गर्ने काम हो । समाजमा सम्पन्न वर्ग, तिनीहरुको दर्शन, तिनीहरुको सिद्धान्त, तिनीहरुको राजनीतिक कार्यक्रम, तिनीहरुको संगठन एकातिर र श्रमजीवी वर्ग, तिनीहरुको दर्शन, तिनीहरुको सिद्धान्त, तिनीहरुको सिद्धान्त, तिनीहरुको राजनीतिक कार्यक्रम, तिनीहरुको संगठन अर्कोतिर रहेको हुन्छ । उपरोक्त राजनीति परस्पर विरोधी भएकाले आजको संसार त्यसैमा फसेको छ । दणिणपन्थी र पूँजीवादी राजनीति गर्नेहरुले यसलाई ‘संभावनाको खेल’ मान्दछन्भने बामपन्थी र जनवादी राजनीतिगर्नेहरुले यसलाई ‘बिचारको खेल’ मान्ने गर्दछन् । अवसरवादलाई अपनाएकाहरुले मुखले एकथरी र कामले अर्कोथरी गरेको पनि देखिएको छ । तर दुबै डुँगामा खुट्टा राखेर कोही पनि नदी तर्नसक्ने अवस्था हुँदैन । त्यसैले राजनीतिमा दायाँ कि बायाँ एउटा किनारा लिनु उपयुक्त हुन्छ । नेपालको हालको राजनीति भनेको बहुदलीय प्रणालीमा आधारित संसदीय गणतन्त्रात्मक ब्यवस्था हो । देशको कार्यकारी शक्ति प्रधानमन्त्री र मन्त्रिपरिषद्ले प्रयोगगर्ने प्रबन्ध गरिएको छ । त्यसैगरी व्यवस्थापकीय अधिकार संसदमा निहित गरिएको छ ।

०४६ पछि बहुदलीय संसदीय ब्यवस्था चलिरहेको अवस्थामा बीचैमा संघीय शासनयुक्त राज्यको संरचना थपगरिएका कारण केही भ्रम र अन्योलताहरुसमेत सिर्जिएका छन् । सबैलाई थाहाभएको बिषय हो कि कुनैपनि देश बनाउने कुरा राष्ट्रको लक्ष्य र नीतिमा भर पर्दछ । त्यसैले स्पष्ट नीति र दृष्टिकोण भएनभने राजनीतिक अराजकताको अवस्था आउँछ । कुनैपनि देशमा राजनीतिक अराजकता बढ्नु भनेको राजनीतिक वातावरण प्रदुषित हुनु हो । आजकोजस्तो सूचना र सञ्चारको युगमा लडाइँ र झगडाले मात्र कसैले पनि बिजय हाँशिलगर्न सक्दैन । गरेपनि त्यो टिकाउ हुँदैन । त्यसैले राजनीतिक लडाई जित्ने मुख्य हतियार भनेकै सभा, सम्मेलन र छलफलहरु नै हुन् । छलफलका माध्यमबाट कुनैपनि देशको कुनैपनि समस्याको समाधान गर्न–गराउन सकिन्छ । राजनीति शास्त्रकाअनुसार कुनैपनि राजनीति कुनैपनि पार्टी खास प्रस्तावनासहितको विधानका आधारमा तयभएको हुन्छ । उसका आफ्नै मूल्य, मान्यता र आदर्शहरु पनि रहेका हुन्छन् । संगठनात्मक प्रणाली, अनुशासन र पार्टीको संगठन तथा बिचारका सीमाहरुसमेत निर्धारण गरिएका हुन्छन् । जसको अक्षरस पालनागर्नु सबै देशका नागरिक र पार्टी बिशेषका हिसावले सो पार्टीका नेता तथा कार्यकर्ताहरुको कर्तव्य हुनजान्छ । देश वा पार्टीले निर्धारण गरेका काम र कुराहरुको राम्ररी पालना भएनभने त्यहीबाट राजनीतिक प्रदुषणको शुरुवात हुन्छ । जो थपिँदै र जम्दै गएपछि त्यसले बिकरालरुप समेत धारणगर्न सक्दछ । त्यसैले सबैले आपूmहरुको निर्धारण गरेअनुसार देश र पार्टीहरु चलेका छन् कि छैनन् ? भन्ने कुराको सधँै अनुगमन र चिन्तन मनन् गर्नुपर्ने हुन्छ । नेपालमा राणा शासन थियो । त्यो राजनीतिक आदर्श र मूल्य मान्यताअनुसार नचलेकाले ढल्यो, पञ्चायतको हालत त्यही भयो । हाल नेपालमा लोकतान्त्रिक गणतन्त्र लागूगराइएको छ । त्योपनि लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्शअनुसार चलेनभने देशको राजनीतिले अर्कातिर फड्को मार्छ । हरेक राजनीतिक ब्यवस्था आफैमा नराम्रो हुँदैन । तर यसलाई सफल गराउने–नगराउने कुरा सञ्चालकहरुमा भरपर्दछ । सञ्चालक देशमा शान्ति, प्रगति र ब्यवस्थाको दीर्घ जीवन चाहाने छभने त्यो ब्यवस्था पनि टिक्छ । होइन धमिलो पानीमा माछामार्ने खालको छभने कुनैपनि राजनीतिक ब्यवस्था असफल हुन्छ ।

पार्टीको हकमा पनि सोही कुरा हो । त्यसैले हरेक देशले आपूmले लागूगराएको राजनीतिक व्यवस्था कतै प्रदुषित भयोकि भनेर त्यसको निरन्तर ‘प्रदुषण मापन’ गरिरहनु पर्दछ । त्यसैले पार्टीहरुमा पनि सन्तुलन कायम गर्ने र उजिल्याउने तथा धारलगाउने कुराहरुलाई सधँै ध्यान दिइएको हुनुपर्दछ । बिचारको खेलखेल्ने राजनीतिक ब्यवस्था र पार्टीहरु नीतिप्रधान हुन्छन्भने संभावनाको खेलखेल्नेहरु नेताप्रधान हुन्छन् । यो भेदलाई पनि सबैले सधैँभरी ध्यानदिन आवश्यक छ । नीतिप्रधान भनिएका कतिपय पार्टीहरु नेताप्रधान बन्नपुगेका छन् । त्योभनेको सो पार्टीको राजनीति प्रदुषित हुनु हो । त्यस्ता पार्टीहरु सधैँ धरापमा परेका हुन्छन् । नेपालमै यस्ता धेरै उदाहारणहरु रहेका छन् । विकास निर्माणलाई अघिबढाउने स्पष्ट दृष्टिकोण साथ अगाडि बढ्ने होभने विकासमा आधारित राजनीतिको ब्यवस्था गरिएको हुनुपर्दछ । विश्वका कतिपय देशमा सैन्य रणनीतिमा आधारित राजनीतिक ब्यवस्थाहरु पनि रहेका छन् । त्यसैले त्यहाँ आन्तरिक र बाह्य कलहहरु सधै रहने गर्दछन् । राजनीतिलाई कतिपय बिद्वानहरुले श्रोतहरुको उचित व्यवस्थापनकारुपमा समेत परिभाषितगर्ने प्रयास गरेका छन् । श्रोत भन्नाले आर्थिक, मानवीय, खनिज या अन्य जुनसुकै वस्तु या बिचार पनि हुनसक्छ । परिवार, समाज या राष्ट्रमा आउने जुनसुकै समस्याको उचित व्यवस्थापनलाई पनि राजनीतिकै परिभाषाभित्र समेट्ने गरिएको छ । त्यसैले कतिपयले राजनीतिलाई ‘फोहरी खेल’कारुपमासमेत लिनेगरेका छन् । खासमा राजनीति आफैमा फोहरी खेल होइन र यसलाई फोहरी खेल बन्नदिनु पनि हुँदैन । राजनीति कसरी फोहोरी हुन्छ, अथवा भैरहेको छभन्नेबारेमा सञ्चालकहरुले राम्ररी बुझ्न र त्यसलाई तत्कालै सफा गर्न–गराउन सक्ने हैसियत पनि राख्नुपर्दछ । नेतृत्वकर्ताहरु फोहर गर्न जान्ने तर सफा गर्न नजान्ने भएको खण्डमा कुनैपनि देश वा पार्टीमा खतराको घण्टी बज्छ । सो घण्टी बजेर पनि समस्याको समाधान भएनभने अकल्पनीय दुर्घटना हुन्छ । राजनीतिक दुर्घटना अन्य दुर्घटनाभन्दा पनि फरक हुन्छ । राजनीतिक दुर्घटना हुनुभनेको ऐना फुट्नु सरह हो । फुटेको ऐनालाई मर्मत गरेर जोड्न सकिँदैन । फेरी अर्को प्रबन्ध गर्नुपर्दछ ।

त्यसैले बिभिन्न देशका जनता वा पार्टीका नेता तथा कार्यकर्ताले राजनीतिमा बिधि र पद्धतिको माग गरिरहेका हुन्छन् । नेपालकै कतिपय पार्टीहरुमा त्यस्तो माग पनि भैरहेको छ । हरेक देश, पार्टी र ब्यक्तिसमेतले आ–आफ्ना सीमाहरुको सधैँ ख्याल गरेको हुनुपर्दछ । जसरी एकजना चालकले आफ्नो सवारी साधन सञ्चालन गर्दा सीमाको पनि ख्यालगरेको हुनुपर्दछ । सडकमा गुडिरहेको गाडिले आफ्नो सीमाको निरन्तर ख्याल गरेनभने उ अवश्यनै दुर्घटनामा पर्छ । पद र पैसाको लोभ तथा उन्मादले राजनीतिका खेलाडीहरुलाई पथभ्रष्ट बनाउने संभावना सधँै रहन्छ । त्यसपछि नै राजनीति एक फोहरी खेलमा परिणत हुने हो । त्यसैलेगर्दा धेरैले राजनीतिलाई फोहरी खेल भन्नेगरेका हुन् । पहिलो त खेलाडीले आफ्नो खेललाई फोहर हुनबाट जागाउनु प¥यो । दोश्रो कहीँ कतै फोहर छभने पनि त्यसलाई निरन्तर सफा गर्दै जाने कलाको पनि विकास गर्नुप¥यो । एक सच्चा र इमान्दार राजनीतिज्ञले मौका र समय पाएको खण्डमा जस्तोसुकै जमेको राजनीतिक फोहर भएपनि सफा गर्न–गराउन सक्दछ । राजनीतिमा संस्कारका कुराहरु पनि रहेका हुन्छन् । सबैभन्दा पहिले असल व्यवस्था चाहियो । त्यसपछि असल तथा कुशल नेता चाहियो । राजनीतिक ब्यवस्था अरुको देखेर वा नक्कल गरेर हुने कुरा होइन । जो देशको बस्तुस्थिति अनुसारको हुनुपर्दछ । त्यसैले राजनीतिमा ‘ठोस परिस्थितिको ठोस बिश्लेषण’ गरेर जुनसुकै जटिलभन्दा जटिल समस्याहरुको पनि निदानका उपायहरुको पत्तालगाउन सकिन्छभन्ने विश्वब्यापि मान्यतानै रहेको छ । नेपालमै कतिपय नेताहरु जनताले समस्या ठानेका कुरालाई आफ्ना उपलब्धी भन्नेहरु पनि छन् । मेरो गोरुको बाह्रै टक्काभन्ने ब्यापारीले ब्यापार गर्न नसकेजस्तै नेताहरुले पनि आफ्नो देश वा पार्टीको राजनीतिलाई अगाडि बढाउन सक्दैनन् । हठ र घमण्डले कुनैपनि परिवारको घर त राम्ररी चल्दैनभने देश चल्ने कुरै हुँदैन ।

बिभिन्न समयमा बिभिन्न विद्वानहरुले आ–आफ्नो दर्शन दिएका हुन्छन् । माक्र्सवाद, मनुस्मृति, चाणक्यनीति, प्लेटोको आदर्श राज्यको नीति, मेकियाभेलीको सिद्धान्त आदिलाई उदाहारणकारुपमा लिनेगरिन्छ । ति सबै समयसापेक्ष शोचहरु हुन् । त्यसबाट समाजलाई चिन्ने र आपूm बाँचिरहेको समाजको बर्ग बिश्लेषण गर्ने कलाकाबारेमा सिक्न र बुझ्न सकिन्छ । त्यसैका आधारमा नयाँ बिचारहरुको सिर्जना पनि गर्नसकिन्छ । राजनीतिलाई पनि एउटा विज्ञान मानिएको छ । त्यसैले त्यसका निश्चित सिद्धान्त र आधारहरु हुन्छन् । ति सिद्धान्त र आधारलाई अपनाएरमात्र सफलतामा पुग्न सकिन्छ । डेभिड इष्टन, रोबर्ट डाहल, आल्मन्डलगायतका धेरै विद्वानहरुले राजनीतिशास्त्रलाई वैज्ञानिक ढंगबाट अध्ययन गर्ने परिपाटीको थालनी गरेको मानिन्छ । पछि माक्र्स र ऐङ्गेल्सहरुले समाजलाई बुझ्ने र परिचालनगर्ने वैज्ञानिक ढंगको माक्र्सवादकोसमेत विकास गरेको पाइन्छ । सबै राजनीतिमा अनुशासन र आदर्शलाई मुख्य मानिन्छ । अनुशासनमा बस्न र आ–आफ्नो आदर्शलाई कायम राख्न नसक्ने होभने राजनीति सफल हुँदैन । जसरी परिवारका मुलीहरुले आफ्नो घर परिवारका लागि उन्नति–प्रगतिको काम गरिरहेका हुन्छन् । त्यसैगरी देशका मुलीहरुले पनि आफ्नो देशका लागि अथवा भावी पुस्ताका लागि राम्रो गरेको हुनु अनिवार्य छ ।

प्रतिक्रियाहरु

[anycomment]