देशको विद्यमान संकटको कारक दलाल पुँजीवादी संसदीय व्यवस्था

२०८० फाल्गुन ११ गते, शुक्रबार


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सीले देशको विद्यमान सम्पूर्ण संकटको मुख्य कारण दलाल पुँजीवादी संसदीय व्यवस्था भएको ठोकुवा गरेका छन् । नेकपा नागार्जुन नगर समितिद्वारा बिहीबार आयोजित “वर्तमान राष्ट्रिय संकट र यसको समाधान” विषयक अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उनले भने – “नेपालको राष्ट्रियता गम्भिर संकटमा छ हामी यस विषयलाई कत्तिको गम्भीरतापूर्वक लिएका छौं? MCC लागु भएपछि आउने संकटलाई हामी थेग्न सक्छौ? भोलि यो मुलुकमा अमेरिका र चाइनाको बीचमा युद्ध हुँदा नेपाललाई के फाइदा हुन्छ?” भन्दै प्रश्न गरे । “युक्रेनी जनताले त्यतिबेला सही नेतृत्व र सही व्यवस्था चुनेको भए अहिलेको जस्तो नियति भोग्नु पर्ने थिएन । हामीलाई हाम्रो कुना कन्दरामा के छ भन्ने थाहा छैन तर एनजीओ आइएनजीओ प्रयोग गरेर सबै डाटा साम्राज्यवादीले राखिसक्यो। के यो साना कम्युनिस्ट पार्टीको मात्रै एजेण्डा हो अरु पार्टीहरुले बोल्नु पर्दैन ? राष्ट्रियताको संकट जनजीविकाको संकट यो व्यवस्थाको संकट हो। यो व्यवस्था जनताको आधारभूत समस्यामा केन्द्रित भएन,जनतामा परिवर्तनको अनुभूति भएन । हामी राजनीतिक दलहरू जनता भन्दा एक कदम अगाडि हुन्छौँ । देशमा अब आउने संकटबाट देश र जनतालाई बचाउन उपयुक्त भूमिका खेल्नु पर्छ । यो व्यवस्था दलाल पुँजीपतिवर्गको पञ्जामा छ। यो राज्यले मीनबहादुर गुरुङलाई सजाय दिँदै गर्दा अरुण चौधरीलाई किन दिन सकेन । हामीले ८२ हजार ऋण बोकी रहँदा विनोद चौधरी श्रीलंकामा बैंक किन्छन् । यो सत्ताका सबै अंग दलाल पुँजीपति र साम्राज्यवादको नियन्त्रणमा छन् । युवा विद्यार्थीहरूको पलायन व्यापक बढिरहेको छ । सरकारी विद्यालयमा समेत कन्सल्टेन्सीका मालिकहरू गएर विद्यार्थीलाई बाहिर जान प्रशिक्षण गरिरहेका छन् ।”
नेता कृति सीले नेपालमा रहेको दलाल पुँजीवादी संसदीय व्यवस्थाले २१ औं शताब्दीका नयाँ पुस्तालाई विदेशी बजारका दास बनाएको बताउदै भने – “बहुदल पछिको कांग्रेस नेतृत्वको सरकारले उदारवादी अर्थतन्त्र र निजीकरणलाई स्वीकार गर्ने नीति पास गरेकोले देशमा भएका सम्पूर्ण उद्योग कलकारखाना बन्द भए देशको अर्थतन्त्र तहसनहस भयो देशमा भविष्य नदेखेपछि नयाँ पुस्ताका युवाहरु विदेशिन बाध्य भए ।”
नेता कृति सीले देशमा जतिपनि संकटहरु छन् यसको मुख्य कारण दलाल पुँजीपति संसदीय व्यवस्था हो यसको अन्त्य गरी नेपाली विशेषताको समाजवाद स्थापना गर्नुको बिकल्प छैन भन्दै त्यसका लागि सम्पूर्ण माओवादी, कम्यूनिष्ट शक्ति, देशभक्त, लोकतन्त्रवादी शक्तिहरू एक भएर लड्नु पर्ने बताए ।
उक्त कार्यक्रममा राष्ट्रिय प्रजतन्त्र पार्टीका बागमती प्रदेश समिति अध्यक्ष तथा पूर्व भूमि व्यवस्था राज्य मन्त्री विक्रम बहादुर थापाले नेपालको आवश्यकता अनुसारको व्यवस्था नभएकोले मुलुकले संकट भोग्नु परेको बताउदै भने- ” नेपालको आवश्यकता अनुसारको व्यवस्था भएको भए देश धेरै अगाडि बढि सक्ने थियोे । यो व्यवस्थामा विदेशीको दबाब प्रभाव बढ्यो, राष्ट्र र जनताको हितमा काम हुन सकेन” भन्दै सबै दलहरुलाई साथमा लिएर गोलमेल सम्मेलन गरी देशकाे माटो सुहाउँदो व्यवस्था लागु गर्नु पर्ने बताएका छन् ।
अर्का वक्ता नेपाली कांग्रेस नागार्जुन नगर समिति सभापति दुर्गा प्रसाद गौतमले यो व्यवस्थाका पार्टीहरुमा ८० प्रतिशत व्यक्ति दलाल चरित्रको भएको हुँदा नयाँ युवाहरुलाई काम गर्न सहज भएको भनाई राखेका छन् । उनले समाजवादसँगै नयाँ पुस्तालाई विशेष अवसर दिनु पर्ने कुरामा जोड दिएका छन् ।
यसैगरी, अर्का वक्ता नेकपा (माओवादी केन्द्र)की बागमती प्रदेश समिति सचिवालय सदस्य देवकी पौडेलले १० वर्षे जनयुद्व लडेर ल्याएको व्यवस्था र नेतृत्वलाई केही गैरराजनीतिक चेत भएका व्यक्तिहरूले कुप्रचार गरेको भन्दै आपत्ति जनाइन् । उनले सबै माओवादी र कम्युनिस्ट एक भएर देशमा जनताको व्यवस्था समाजवाद स्थापना गर्नु पर्ने बताइन ।
यसैगरी, नेकपा (एकिकृत समाजबादी) का बागमती प्रदेश समिति सदस्य कृष्ण हरि खत्रीले प्रदेश स्थानीय तहहरूले संघीयताको मर्म अनुसार काम गर्न नसकेकोले यसलाई व्यवस्थित गर्नु पर्ने बताउदै समानुपातिक समावेशी प्रणाली आफ्ना नजिकका आफन्तलाई नियुक्ति गर्ने थलो हुँदा सीमान्त वर्गले अवसर पाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य बागमती प्रदेश सभासद उदय थापाले देशमा संकटहरु एकपछि अर्काे थपिँदै गएको भन्दै यो सत्ता र व्यवस्थाले थेग्न नसक्ने अवस्था आएको बताउदै भने- “देशले स्थायित्व, समृद्धि र विकास मागेको छ यो व्यवस्थाले दिन सक्दैन त्यसको लागि जनताले विकल्प खोजेको छ।”
उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा काठमाडौं ३ का इन्चार्ज डि आर सीले अध्यक्षता गर्दै अन्तरक्रियाको विषयवस्तु प्रस्ट पारेका थिए भने कार्यक्रमको सञ्चालन दिव्य सीले गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु