पश्चिम तराईमा शीतलहर

काठमाडौँ । पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि कैलालीको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ । बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ ।
बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । शीतलहर सुरु भएपछि कैलालीका तरकारी खेती गर्दैआएका किसान चिन्तित भएका छन् । बर्षातको समयमा बाढी र डुबान तथा हिउँदको समयमा जाडोका कारण बल्चौरस्थित वादी बस्तीका बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुँदै आएका छन् । शीतलहरबाट कञ्चनपुरको जनजीवनसमेत प्रभावित बनेको छ ।