बयान फेर्ने साक्षीलाई भ्रष्टाचारको मुद्दा !
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा गएर बयान फेरेको आरोपमा दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बयान फेरेको आरोपमा शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले रंगेहात घुसको मुद्दामा अदालतमा साक्षीको रुपमा पेश गरिएका उनीहरुले बयान फेरेपछि उनीहरुमाथि पनि मुद्दा चलाएको हो । अख्तियारले २० बैशाख, २०८१ मा पोखरा महानगरपालिकाका दुई इञ्जिनियर सहित ३ जनामाथि घुस लेनदेन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।
अख्तियारले महानगरको नक्सा शाखामा कार्यरत सब–इञ्जिनियर उषाकिरण रोकाया, इञ्जिनियर शिवप्रसाद बराल र गोदार कन्सल्टेन्सीका सुरज कुँवर विरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले रोकाया र कुँवरलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा चैत २८ गते पक्राउ गरेको थियो भने अनुसन्धानका आधारमा संलग्नता देखिएपछि इन्जिनियर बराल वैशाख ४ गते पक्राउ परेका थिए ।
त्यही घटनामा संलग्न भएपछि अख्तियारले केशव प्रसाद तिवारी र उर्मिला पौडेललाई मुद्दा नचलाई सरकारी साक्षीको रुपमा अदालतमा पेश गरेको थियो । तर विशेष अदालतमा उपस्थित भएका उनीहरुले उल्टो बकपत्र गरेको भनी उनीहरुमाथि समेत मुद्दा चलाएको हो ।
सरकारी साक्षीले उल्टो बकपत्र गरेमा वा अख्तियारको प्रतिकुलमा बकपत्र गरेमा उसलाई दिएको सजाय छुटको मागदावी उल्ट्याएर मुद्दा चलाउने अभ्यास छ । अब उनीहरुले पनि भ्रष्टाचारको आरोप सामना गर्नुपर्नेछ ।