चाँदबाग स्कुललाई अतिक्रमित जग्गा खाली गर्न २ दिनको अल्टिमेटम
काठमाडौँ । काठमाडौं महानगरपालिकाले चाँदबाग स्कुललाई अतिक्रमित सार्वजनिक जग्गा दुई दिनभित्र खाली गराउन निर्देशन दिएको छ । सो स्कुलले १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको महानगरले जनाएको छ । महानगरले नगर प्रहरीमार्फत माइकिङ गराउँदै अतिक्रमित जग्गा दुई दिनभित्र खाली गर्न स्कुललाई निर्देशन दिएको हो । बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा ६ भदौ २०४४ मा ६ रोपनी र १८ मंसिरमा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो । तर, ९ चैत २०८० मा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको थियो ।
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले ८ साउन २०८१ मा ३ नम्बर वडालाई सो जग्गाको स्रेस्ता उतारेर दिएको थियो । स्रेस्ता पाएपछि वडाले चाँदबाद स्कुललाई हट्न भनेको थियो ।
महानगर नगर प्रहरीका अनुसार महानगरले यस अगाडि नै सार्वजनिक जग्गा खाली गर्न सूचित गराए पनि दुई दिनको समय राखेर माइकिङ गरेको हो । दुई दिनसम्म जग्गा खाली गरिएन भने बल प्रयोग गरेर भए पनि जग्गा खाली गराउने महानगरको तयारी रहेको बताइएको छ ।