दशैं–तिहारको मुखमा ५७ हजार नेपाली विदेशिए
काठमाडौं । चालु आर्थिक वर्ष ०८१–०८२ को भदौ महिनामात्र ५७ हजार ४९३ नेपालीहरू विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार नेपालीका दशैं–तिहार जस्ता प्रमुख चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी ५७ हजार ४९३ नेपालीहरू विदेशिएका हुन् ।
विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । गत साउनमा ६० हजार विदेशिएका थिए भने भदौमा २९ हजार ५२८ जना संस्थातरुपमा र ९ हजार २६ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको जनाएको छ । त्यस्तै जिटुजीमार्फत् एक हजार ३ जना विदेश गएका छन् । यो नयाँ तथा पुरानो श्रम स्वीकृत लिएर जाने श्रमिकको संख्या हो ।
वैदेशिक रोजगार विभागका सूचना अधिकारीसमेत रहेका गुरुदत्त सुवेदीका अनुसार भदौमा सबैभन्दा धेरै यूएई गएका छन् । पछिल्लो एक महिनामा युएइमा मात्र १८ हजार ६०५ नेपाली विदेश गएका छन् । त्यस्तै साउदीमा १० हजार ८३५, कतारमा ११ हजार २९१ र कुवेतमा ४ हजार २१५ श्रमिक वैदेशिक रोजगारीमा गएको सूचना अधिकारी सुवेदीले बताए ।
यता, वैदेशिक रोजगारीमा मलेशियामा जाने श्रमिकमा भने ठुलो गिरावट आएको छ । साउनमा मलेशियामा १ हजार ३४४ जना वैदेशिक रोजगारीमा गएका छन् । यो कोभिडपछि अहिलेसम्मै ठूलो गिरावट हो । कुनै समय नेपालको प्रमुख श्रम गन्तव्य रहेको मलेशियामा भदौमा १ हजार १९३ श्रमिक गएका छन् । अघिल्लो आर्थिक वर्षको भदौमा ८ हजार १६३ जना श्रमिक रोजगारीको खोजीमा मलेशिया गएका थिए । गत मार्चमा मलेशियाले आप्रवासी श्रमिक लैजान कटौटी यो संख्यामा कमी आएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए ।
भदौमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ । विभागका अनुसार रोमनीयमा सबैभन्दा धेरै श्रमिक गएका छन् । भदौमा रोमनियामा युरोप राष्ट्र रोमनिया एक हजार ८८८ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै क्रोएसियामा ७०९, साइप्रस ६ सय १२, माल्टामा २८२ जना गएको विभागको तथ्याङ छ । त्यस्तै जापानमा एक हजार ४५६ र दक्षिण कोरियामा एक हजार १०६ श्रमिक रोजगारीका लागि गएका छन् ।
भदौमा सबैभन्दा धेरै धुनषाबाट वैदेशिक रोजगारीमा गएका छन् । भदौमा धनुषाबाट ३ हजार ३६०, सिराहबाट २ हजार ६४४, झापाबाट २ हजार ५७५, मोरङमा २ हजार ४००, महोत्तरी २ हजार ३६०, सुनसरी २ हजार ५७ जना वैदेशिक रोजगारीमा गएका छन् । नेपालबाट भदौमा विदेशिने श्रमिक मध्ये १३ हजार १७१ जना अदक्ष श्रमिक छन् । विभागका अनुसार भदौमा विदेशिनेमध्ये ३७ हजार ७८३ हजार श्रमिक दक्ष छन् । अर्धदक्ष ६ हजार १७५ जना विदेशिएका छन् । त्यस्तै व्यवसायिक दक्ष शिप भएका ३०९ जना गएका छन् भने ५५ जना उच्च दक्ष श्रमिकहरू विदेशिएका छन् ।
विभागका निर्देशक गुरुदत्त सुवेदीले चाडपर्व नजिकिए पनि रोजगारीको खोजीमा विदेश जानेको संख्यामा कुनै कमी नआएको बताए । उनले मुलुकभित्र रोजगार सिर्जना हुन नसक्दा युवाहरु विदेश जानु पर्ने अवस्था नफेरिएको बताए ।