लप्सीफेंदीमा प्रहरी र स्थानीयबीच झडप !

काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका– ३ लप्सीफेंदीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका लप्सीफेदीको बोझेनी भन्ने ठाउँमा स्थानीय र प्रहरीबीच हिजो रातीदेखि झडपभएको हो । उक्त करमा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएकोमा चार जनालाई छाडेको छ । १३ जना बौद्ध प्रहरीको हिरासतमा छन् ।
सबस्टेसन र टावर निर्माणका लागि विहीबार बिहान करिब ११ बजे डोजर पुग्दा स्थानीयले ढुंगामुण प्रहार गरेका थिए । त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले रोक्ने क्रममा तनाव सुरु भएको थियो । प्रहरीले विहीबार राति नौ बजेसम्म पनि धरपकड गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।
बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग छ । यसअघि २०८० साल मंसिरमा पनि स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यतिखेर सशस्त्र प्रहरीका डिएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका थिए ।
लप्सीफेदीमा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ५० जना जग्गाधनीहरुको करिब १७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।