अस्ट्रेलियामा ‘राइट टु डिसकनेक्ट’ कानुन कार्यान्वयन

२०८१ भाद्र १० गते, सोमबार


काठमाडौँ । अस्ट्रेलियामा ‘राइट टु डिसकनेक्ट’ नियम कार्यान्वयनमा आएको छ। नयाँ कानुन अनुसार अब कर्मचारीहरू कार्यालय समयपछि रोजगारदातासँग ‘कम्युनिकेसन’ गर्न बाध्य हुने छैनन्। यसरी कुराकानी नगर्दा रोजगादाताले कुनै कारबाही गर्न पाउने छैनन्। यससँगै कार्यालय समय सकिएपछि रोजगारदाताबाट आउने फोन वा मेसेज उठाउनुपर्ने बाध्यताबाट कर्मचारीलाई राहत मिल्ने भएको छ। यस्तै कानुन केही युरोप र ल्याटिन अमेरिकी देशमा पनि छ।
गत वर्ष सार्वजनिक एक रिपोर्ट अनुसार अस्ट्रेलियनहरूले एक वर्षमा सामान्यरुपमा २८० घण्टा बिना कुनै पारिश्रमिक काम गर्ने गरेको पाइएको थियो। नयाँ कानुनले रोजगारदाताले कार्यालय समयपछि कर्मचारीलाई फोन वा अन्य माध्यमबाट सम्पर्क गर्न रोक्दैन। तर कर्मचारीलाई ‘रिप्लाई’ नदिन पाउने अधिकार भने हुनेछ। त्यस्तो अस्वीकारोक्ति व्यवहारिक भने हुनुपर्नेछ। यस्तै, कर्मचारी र रोजगारदातामा कुनै विवाद भए त्यसको निरुपण सकेसम्म उनीहरूले नै गर्नुपर्छ। विवाद नमिलेमा मात्रै अस्ट्रेलियाको फेयर वर्क कमिसन प्रवेश गर्नेछ।
कमिसनले रोजगारदातालाई आफ्नो कर्मचारीलाई कार्यालय समयपछि सम्पर्क नगर्न निर्देशन दिनसक्नेछ। यदि कमिसनले ‘रिप्लाई’ दिन अस्वीकार गर्ने कर्मचारीले दिएको कारण अव्यवहारिक छ भने ‘रिप्लाई’ दिन निर्देशन पनि दिन सक्नेछ।

कमिसनले दिएको निर्देशन पालना नगरे कम्पनीले ९४ हजार अस्ट्रेलियन डलर (करिब ८४ लाख रुपैयाँ) र कर्मचारीले १९ हजार अस्ट्रेलियन डलर (करिब १७ लाख रुपैयाँ) जरिबाना तिर्नुपर्नेछ।

प्रतिक्रियाहरु

[anycomment]