ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न रोक

२०८२ जेष्ठ १० गते, शुक्रबार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सबभन्दा पुरानो विश्वविद्यालयसँग असमझदारीका माझ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने हार्वर्डको अनुमतिलाई रोक लगाएका छन् । अमेरिकाको आन्तरिक मामिला हेर्ने मन्त्रालय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्समा लेख्दै प्रशासनले ‘कानुनसम्मत काम गर्न विफल भएकाले हार्वर्डको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेशन’ खारेज गरिएको उल्लेख गरेकी छन्। यो देशभरिका सबै विश्वविद्यालय तथा शैक्षिक केन्द्रहरूका निम्ति एक चेतावनी पनि रहेको उनले जनाएकी छिन् । हार्वर्डले हिंसा तथा यहुदीविरोधी भावना फैलन दिएको तथा उसका क्याम्पसमा चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको आरोप नोमको छ ।
भर्ना भइसकेका विदेशी विद्यार्थीहरूले अब अन्य विश्वविद्यालयमा ट्रान्सफर लिनु पर्ने उनले सुझाव दिएकी छिन् । हार्वर्डले सरकारको उक्त कदम गैरकानुनी भएको प्रतिक्रिया दिएको छ। हार्वर्डमा १४० भन्दा धेरै देशबाट विद्यार्थीहरू अध्यन गर्छन् । ट्रम्प प्रशासनको निर्णयले उक्त विश्वविद्यालयमा अध्ययनरत हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रभाव पर्न सक्छ। गत शैक्षिक वर्ष हार्वर्डमा ६,७०० विदेशी विद्यार्थी भर्ना भएको आँकडा विश्वविद्यालयले दिएको छ। सरकारको कदमबारेको समाचार बिहीवार फैलिएसँगै हजारौँ विद्यार्थीहरूमाझ त्रास र निराशा फैलिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]