खिल्ली चुरोट बिक्रीमा बन्देज लगाइदै
काठमाडौं ,१८ जेठ। सरकारले फुटकर चुरोट (खिल्ली) बिक्रीमा रोक लगाउने तयारी गरेको छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, ०६८ को दफा ११ को उपदफा ४ बमोजिम चुरोटको फुटकर बिक्रीमा रोक लगाउन लागिएको हो । सो उपदफामा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाइने प्रावधान छ । यद्यपि यसको कार्यान्वयन भने राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै हुनेछ ।स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सो उपदफा कार्यान्वयनका लागि आवश्यक गृहकार्यमा जुटेको छ । पछिल्लो समय युवा तथा किशोरकिशोरीमा चुरोटको लत बढ्दै जानुमा रेस्टुरेन्ट, चिया तथा किराना पसल एवं सडकपेटीमा राखिने नाङ्लो पसलले बिक्री गर्ने फुटकर चुरोट नै भएको ठहर गर्दै त्यसलाई रोक लगाउन खोजिएको छ ।यो निर्णयबाट स्कुल-कलेज पढ्ने छात्रछात्रा तथा युवा किशोरकिशोरीलाई प्याकेट नै किनेर खान आर्थिक तथा सामाजिक रुपमा अप्ठेरो पर्ने सरकारको ठहर छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले भने, ‘अभिभावकले दिएको खाजा खाने पैसा बचाएर नाङ्लो पसल तथा चिया पसलमा गई फुटकर चुरोट किनेर खान जति सजिलो र सहज हुन्छ त्यसरी नै प्याकेट नै किनेर खान उनीहरुलाई गाह्रो पर्छ । त्यसैले पनि यो नियमलाई तत्काल कार्यान्वयन गर्नुपर्छ ।’