२९ औं राज्य तेलंगाना अस्तित्वमा
काठमाडौं, २० जेठ । भारतको २९ औं राज्यको रूपमा तेलंगाना अस्तित्वमा आएको छ । लामो समयदेखि पृथक राज्यका लागि लड्दै आएका के चन्द्रशेखर रावले सोमबार मुख्यमन्त्रीको शपथ लिएर नयाँ सरकारको कमान सम्हालेका छन् । तेलंगाना राष्ट्र समिति पार्टी (टीआरएस) का अध्यक्ष रावले यो दिनका लागि १४ वर्ष संघर्ष गर्नुपरेको थियो । थुप्रै राजनीतिक उचारचढावपछि केन्द्र सरकारले तेलंगानावासीको आवाज सुनेको हो । सन् १९५६ मा तेलंगानालाई आन्ध्रप्रदेशमा विलय गराउँदा स्थानीय समूहले विरोध गरेको थियो । सुस्तरी सुरु भएको आन्दोलनले सन् १९६९ मा भीषण रूप लिएको थियो । सरकारले दमनकारी नीति अख्तियार गर्दै आन्दोलनकर्मीमाथि गोली प्रहार गर्दा त्यतिबेला ३ सयभन्दा बढीको ज्यान गएको थियो ।
उक्त स्थलमा अहिले स्मारक निर्माण गरिएको छ, जहाँ भेला भएर स्थानीयले नयाँ राज्यको उत्सव मनाएका छन् । ‘स्थानीय जनता र युवाको त्यागले यो सम्भव भएको हो, हाम्रो लागि यो एक ऐतिहासिक क्षण हो,’ स्थानीय विद्यार्थी नेता कृशांकले भने । हजारौं युवालाई जागिर उपलब्ध गराउनु नयाँ सरकारको पहिलो प्राथमिकता हुने उनले बताए ।निकै पुराना माग पूरा भएपछि राज्यवासी मख्ख छन् । उनीहरूले सोमबार बिहान नयाँ राज्यमा नवजीवन सुरु गरेका छन् । ‘मलाई जागिरको आवश्यकता छ, तर नपाए पनि तेलंगाना स्वतन्त्र हुँदा खुसी लागेको छ,’ हैदरावाददेखि ४० किमि टाढा दलित गाउँकी युवतीले भनिन्, ‘हामी गर्वसाथ आफ्नो राज्यमा सास फेर्न पाएका छौं ।’ आन्ध्रप्रदेशका १० जिल्ला र राजधानीको रूपमा हैदरावाद सहर पाएको यो राज्यको जनसंख्या ३ करोड ५० लाख छ ।
हैदरवादलाई रातै बेलुन, ब्यानर र झन्डाले झकिझकाउ पारिएको छ । यो विभाजनबाट आन्ध्रप्रदेशलाई ठूलो आर्थिक क्षति हुने देखिएको छ । एक दशकसम्म आन्ध्रप्रदेशले हैदरावादलाई नै राजधानीको रूपमा प्रयोग गरिरहन पाए पनि त्यसपछि उसले नयाँ राजधानीको निर्माण गर्नुपर्नेछ । -बीबीसी