अमेरिकाले युरोपको सुरक्षा गर्न एक अर्ब डलर दिने
काठमाडौँ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पूर्वी युरोपको सुरक्षाका लागि एक अर्ब अमेरिकी डलर बराबरको योजना सार्वजनिक गरेका छन् ।पूर्व सोभियत सङ्घको एक भाग युक्रेनमा रसिया समर्थक विद्रोह तथा क्रेमलिनको क्रियाकलापबाट त्यस क्षेत्रमा उत्पन्न त्रास हटाउन उक्त योजना अगाडि आएको बताइएको छ ।राष्ट्रपति ओबामाले वार्साबाट युरोपको भ्रमण आरम्भ गरेका छन् । उनी पोल्यान्डमा स्वतन्त्र निर्वाचन भएको २५ औँ वार्षिकोत्सवमा सरिक हुने्छन् । यस निर्वाचनले पोल्यान्ड तथा बाँकी पूर्वी युरोपलाई मस्कोको घेराबाट मुक्त गरी प्रजातन्त्र र बढ्दो समृद्धितर्फ अगाडि बढाएको थियो ।
क्रेमलिनले मार्च महिनामा युक्रेनको क्राइमिया प्रायःद्वीपलाई आफ्नो नियन्त्रणमा लिई युरोपेली भागमा शीतयुद्धकालिन नियन्त्रण कायम गर्नसक्ने त्रासबीच उक्त कार्यक्रम आयोजना भइरहेको छ ।
राष्ट्रपति ओबामाले अमेरिकी तथा पोल्यान्डको एफ–१६ विमानचालकहरूको एक संयुक्त समूहको निरीक्षण गरेपछि पोल्यान्डको सुरक्षाप्रतिको बचनबद्धता तथा मध्य तथा पूर्वी युरोपका सहयोगीहरूको सुरक्षा आफ्नै सुरक्षाको एक भाग भएको र उल्लङ्घन गर्न नसकिने भएको बताए ।उनले पूर्वी युरोपका नयाँ मित्रराष्ट्रहरूमा थप अमेरिकी सेनाको उपस्थितिका लागि एक अर्ब अमेरिकी डलर बराबरको कार्यक्रमको प्रस्ताव राखे । युरोपेली पुनआश्वासनको प्रयासको रूपमा रहेको यस योजनामा अमेरिकी संसदको स्वीकृति आवश्यक छ ।यस योजनाअनुसार युक्रेन तथा जर्जिया जस्ता नेटोका सदस्य नभएका मुलुकको क्षमता विकास गरिनेछ । यसले यी मुलुकलाई अमेरिका तथा पश्चिमी मुलुकसँग मिलेर उनीहरूको आफ्नै प्रतिरक्षा क्षमता विकास गर्न सहयोग दिनेछ ।- एजेन्सी