प्रधानमन्त्री कोइराला चीन प्रस्थान
काठमाडौ, २२ जेठ । प्रधानमन्त्री सुशील कोइराला आज चीन भ्रमणमा प्रस्थान गरेका छन् ।दक्षिण एसिया व्यापार मेलाको उद्घाटन समारोहमा सहभागी हुन विशिष्ट अतिथिका रुपमा प्रधानमन्त्री कोइराला चीन भ्रमणमा गएका हुन् । दक्षिण एसिया र दक्षिया पूर्व एसियाका नेताहरू सहभागी हुने उद्घाटन समारोहमा प्रधानमन्त्री कोइरालाले ‘सम्मानको अतिथि’का रुपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाको टोलीमा सरकारी, निजी र राजनीतिक दलका नेताहरुसहित ३८ जना रहेने छन् । अहिले बिहान ९ बजे प्रधानमन्त्री नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।प्रधानमन्त्री कोइरालाले मेलामा बनाइएको नेपाली कक्षको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।
कुल ८० वटा स्टल रहने कक्षमा निर्यात हुने नेपाली उत्पादनहरू राखिनुका साथै नेपाली वस्तु, संस्कृति र पर्यटनबारे सूचना प्रवाह गर्ने व्यवस्था गरिएको छ ।
युनानको प्रान्तीय सरकार र चीनको वाणिज्य मन्त्रालयद्वारा संयुक्तरुपमा आयोजना गरिने यो व्यापारिक मेलामा दक्षिण एसिया र दक्षिणपूर्व एसियाका ४६ राष्ट्रहरूको सहभागिता रहने भएको छ । प्रधानमन्त्री कोइराला जेठ भोलि काठमाडौँ फर्कने छन् ।