६ सय किलो गाँजासहित ट्रक चालक पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले गजुरी गाउँपालिका– २ बाट ६ सय २० किलो गाँजासहित एक जनालाई मंगलबार बिहान पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका– ७ का २९ वर्षीय सन्तोषकुमार साह छन्। प्रहरीले मधेस प्रदेश ०३–००१ ख ८३०९ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा कवाडीको सामानभित्र लुकाई राखेको अवस्थामा ६ सय २० किलो ४४ ग्राम गाँजा फेला पारेको थियो। त्यसपछि ट्रक चालक साहलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ।