राष्ट्र बैंकको निर्देशन रद्दीको टोकरीमा

२०७१ जेष्ठ २४ गते, शनिबार


काठमाडौँ । बैंकहरूलाई स्प्रेड दर पाँच प्रतिशत कायम गर्ने राष्ट्र बैंकले दिएको निर्देशन बैंकहरूले रद्दीको टोकरीमा फालिदिएका छ । बैंकमा निक्षेपकर्ताले रकम जम्मा गरेवापत दिइने ब्याज र ऋण दिएवापत बैंकले लिने ब्याजबीचको अन्तरलाई स्प्रेड दर भनिन्छ । यो ब्याज दरको भिन्नता पाँच प्रतिशतभन्दा फरक हुन् नहुने राष्ट्र बैंकको निर्देशन छ । तर, विभिन्न १५ वटा वाणिज्य बैंकहरूले ऋणीबाट बढी ब्याज असुल्ने र निक्षेपकर्तालाई कम ब्याज दिएर राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेका छन् । हाल सञ्चालनमा रहेका ३० वटा वाणिज्य बैंकहरूमध्ये १५ वटा वाणिज्य बैंकको स्प्रेड दरबीचको अन्तर राष्ट्र बैंकको निर्देशन विपरीत पाँच प्रतिशतभन्दा माथि देखिएको छ । यसरी स्प्रेड दर बढी देखिँदा ती बैंकबाट उपभोक्ताहरू मारमा परेका छन् । आगामी असार मसान्तसम्म स्प्रेड दर पाँच प्रतिशत कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएपश्चात केही बैंकहरूले स्प्रेड घटाउँदै लगेका छन् । तर, अझै पनि १५ वटा बैंकको स्प्रेड पाँच प्रतिशतभन्दा माथि नै रहेको छ । प्राप्त जानकारी अनुसार कृषि विकास बैंक, स्टार्न्र्डड चार्टर र नविल बैंकको स्प्रेड ७ प्रतिशतभन्दा माथि छ ।
यसैगरी सभासदहरूको पैसा जम्मा गर्ने अधिकार पाएको एभरेष्ट बैंकको बैंकको स्प्रेड अझै ६ प्रतिशतभन्दा माथि छ । हिमालयन, इन्भेष्टमेन्ट, सिटिजन र नेपाल बंगलादेश बैंकको स्प्रेड दर पनि ६ प्रतिशतभन्दा माथि नै छ । बैंक अफ काठमाण्डू, प्राइम, ग्लोबल, माछापुच्छ्रे, कुमारी, सानिमा, लक्ष्मी र एनआइसी एसिया बैंकको स्प्रेड पाँच प्रतिशतभन्दा बढी छ । वाणिज्य बैंकहरूमध्ये जनता बैंकको स्प्रेड सबैभन्दा कम -२.२९) प्रतिशत रहेको छ । चैत मसान्तसम्म वाणिज्य बैंकहरूको औसत स्प्रेड भने ६.६२ प्रतिशत छ । फागूनमा यो दर ६.७३ प्रतिशत थियो । अन्तिम त्रयमासमा बैंकहरूलाई १.७३ प्रतिशतले स्प्रेड घटाउन दवाब परेको छ । यसले ब्याजदर अझ घट्ने बैंकहरू बताउँछन् । बैंकहरूले अहिले निक्षेपमा औषत ४.३० प्रतिशत ब्याज दिँदै आएका छन् । यो मूल्यवृद्धिभन्दा ५.१ प्रतिशत कम हो । बैंकहरूले निक्षेपमा कम ब्याज दिने र कर्जामा बढी ब्याज लिने गरेको भन्दै राष्ट्र बैंकले स्प्रेड दर कायम गर्न बैंकहरूलाई निर्देशन दिएको हो । स्प्रेड घटाउनु परेपछि ब्याज आम्दानी घट्दा पुराना बैंकहरूको नाफाको वृद्धिदरमा असर परेको छ । बैंकहरूलाई स्प्रेड मेन्टेन गर्नुपर्ने दबाव छ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने -‘त्यसैले ब्याजदर अझै घट्ने देखिन्छ ।’ बैर्ंकर्स संघले भने स्प्रेडको गणना विधिमा पुनरावलोकन गर्न सुझाव दिइसकेको छ । यद्यपि गभर्नर डा. युवराज खतिवडाले स्प्रेडको सीमामा पुनरावलोकन नहुने अडान राख्दै आएका छन् । यसअनुसार आगामी असार मसान्तसम्म बैंकहरूले पाँच प्रतिशत स्प्रेड कायम गर्नैपर्ने हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु