ज्येष्ठ नागरिक र सरकारबीच नौबुँदे सहमति
काठमाडौं, २९ जेठ। सरकार ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारीसाधनमा २ वटा सिट आरक्षण र ५० प्रतिशत भाडा छुट दिने सहित नौबुँदे सहमति समेत भएको बताइएको छ ।विगत लामो समयदेखि आन्दोलनरत ज्येष्ठ नागरिकसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधि तथा सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिबीच सो सहमति भएको हो ।महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको उपस्थितिमा मन्त्रालयमा भएको वार्तामा ज्येष्ठ नागरिकले राखेका माग पूरा गराउने सम्बन्धमा नौबुँदे सहमति समेत भएको मन्त्रालयद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
वार्तामा सार्वजनिक यातायातका सवारी साधनमा दुईवटा सिट आरक्षण र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडामा छुट दिने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रभावकारीरुपले व्यवहारमा लागू गराउने सहमति भएको छ ।
यसैगरी, मुलुकभरका सबै अञ्चल अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गर्ने, स्वास्थ्य मन्त्रालयको कार्यक्रम साथै सामाजिक सेवा इकाइ कार्यक्रममार्फत वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार स्त्री रोग तथा प्रसूति गृह थापाथली, कोसी अञ्चल अस्पताल विराटनगर, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, सेती अञ्चल अस्पताल धनगढी, भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल नेपालगन्जमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारको छुटको व्यवस्था गरिसकेकाले यो विषयलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रभावकारी कार्यान्वयन तथा विस्तारको व्यवस्था मिलाउने सहमति भएको जनाएको छ ।
यस्तै वार्तामा ७५ जिल्लाका महिला तथा बालबालिका कार्यालयमा रहेको ज्येष्ठ नागरिक स्वास्थ्य उपचार कोषलाई ज्येष्ठ नागरिक कल्याण समितिको २०७० जेठ २५ गते बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हस्तान्तरण गर्ने निर्णय भइसकेकाले सो कोषको परिचालन तनदुरुप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गर्ने सहमति भएको छ ।
ज्येष्ठ नागरिकलाई बिजुलीलगायत सार्वजनिक सेवा प्रदान गर्दा पालोमा पर्खिरहन नपर्ने व्यवस्था नेपाल ऊर्जा मन्त्रालयले र धार्मिक क्षेत्रका मन्दिर, मस्जिद, गिर्जाघर, गुम्बा, तीर्थस्थल आदिमा दर्शन गर्न तथा पूजा गर्न ज्येष्ठ नागरिकलाई छुट्टै व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिबद्धता जनाइसकेको हुनाले यसको प्रभावकारी कार्यालयको व्यवस्था सम्बन्धित मन्त्रालयले गर्नेलगायतको सहमति भएको जनाएको छ ।
उता संयुक्त ज्येष्ठ नागरिक तदर्थ सङ्घर्ष समितिका संयोजक महाप्रसाद पराजुलीले आफूहरुसँग कुनै किसिमको सम्झौता नभएको बताउँदै आफूहरुलाई वार्तामा समेत नबोलाइएको जानकारी दिए ।
सार्वजनिक यातायातको भाडामा ५० प्रतिशत छुट, सरकारी अस्पतालहरुमा निःशुल्क औषधि उपचारको व्यवस्था र निजी अस्पतालमा ५० प्रतिशत छुट तथा हाल दिइँदै आएको बृद्धभत्तालाई बढाएर मासिक रु. तीन हजार पु¥याउनुपर्नेलगायतका माग राखी २०६९ फागुन २४ देखि हरेक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म यातायात व्यवस्था विभाग अगाडि धर्ना गर्दै आएको र आफूहरुको माग पूरा नभएसम्म निरन्तर आन्दोलन जारी राख्ने बताए ।