विश्व शरणार्थी दिवस मनाइँदै
काठमाडौ,६ असार । ‘युद्धले बर्बाद पारेको एउटा परिवार पनि धेरै हो’ भन्ने नाराका साथ आज विश्व शरणार्थी दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।दिवसमा युद्ध र द्वन्द्वका कारण बलपूर्वक विस्थापित भएकाहरुमा परेको असरमा केन्द्रित हुँदै उनीहरुको साहस, विभिन्न बाधाका बाबजुद उनीहरुको दृढता र उनीहरुको लिएको आशाको सम्मानमा विशेष जोड दिइएको छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरले द्वन्द्वका कारण धेरै मान्छे विस्थापनमा परेको भन्दै युद्धको निराकरण र युद्धले उत्पन्न समस्या समाधानमा जोड दिएको छ ।
राष्ट्रसंघीय शरणार्थी उच्चायोगका अनुसार नेपालमा अहिले साढे २६ हजारको हाराहारीमा भुटानी शरणार्थी छन् । शरणार्थीको उचित पुनर्स्थापनाका लागि नेपालमा रहेका भुटानी शरणार्थीलाई ८ वर्षदेखि अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस्, न्यूजील्याण्ड, नर्वे, बेलायत र अमेरिकामा पुनर्वासको व्यवस्था मिलाइएको छ । यस्तै नेपालमा २० हजार भन्दा बढी तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाइजेरिया लगायतका देशका शरणार्थी छन् ।
६ दशक भन्दा बढी समयदेखि नेपालमा शरणार्थीको संख्या बढ्न थालेपनि अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धिमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानुन समेत बनाउन सकेको छैन । शरणार्थी समस्या समाधानका लागि भुटानसंग १५ पल्ट भएका वार्ता विना निष्कर्ष सकिएका छन् ।