अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी बनाइएको विधान जलाउँछौं :पत्रकार

२०७१ असार ६ गते, शुक्रबार

काठमाडौं,६ असार । सरकारले संसदमा दर्ता गरेको अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकको पत्रकारहरुले विरोध जनाएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको विरोध कार्यक्रममा पत्रकारहरुले पञ्चायत र राणा शासनको झल्को आउनेगरी मन्त्रीपरिषदले विधेयक बनाएकाले यसलाई तत्काल रोक्न माग राखेका छन् ।
पत्रकार महासंघका निवर्तमान अध्यक्ष शिव गाउँलेले यो बिधेयकले पन्चायती काल दोहोर्‍याउन खोजेको बताए । ‘अदालतिर फर्केर कसैले हेर्न र बोल्न पाउदैन भन्ने चेतावनी हो यो’ गाउले भने ‘लोकतन्त्रमा यो कुरा मान्य हुदैन ।’
महासंघका कार्यबाहक अध्यक्ष खिलबहादुर भण्डारीले यो विधेयक विरुद्ध सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए । भण्डारीले भने-’अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी बनाइएको विधान जलाउँछौं ।’
प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुनेगरी संसदमा दर्ता भएको विधेयक तत्काल फिर्ता गर्न माग गरे । उनले पञ्चायती शासनमा जस्तै पर्चा खडा गरी सञ्चारकर्मीहरुमाथि नियन्त्रण गर्न खोजेको बताए ।
कानुनमन्त्री नरहरि आचार्यले अदालत र न्यायपरिषद्का केही पदाधिकारीसँगको मिलेमतोमा अभिव्यक्ति स्वतन्त्रता रोक लगाउने गरी संसदमा विधेयक दर्ता गराएको आरोप उनीहरुले लगाएका छन् । अदालतको अपहेलना सम्बन्धी बिधेयक मन्त्रिपरिषदबाट पारित भई संसदमा पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]