सिरियामा युद्धविराम गर्ने सहमति

२०७१ असार ९ गते, सोमबार

काठमाडौं, ९ असार । सिरियामा सरकार र विद्रोही संगठन प्यालेष्टिनी शरणार्थी शिविर क्षेत्रमा युद्धविराम गर्न सहमत भएका छन् ।दुवै पक्षबीच यार्मूकमा रहेको प्यालेष्टिनी शरणार्थी शिविर प्रवेश गर्ने मुख्य बाटो खुला गर्ने र शिविरमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने सहमति भएको बिबिसीले जनाएको छ । तर युद्धबिराम सहमति कहिलेदेखि लागू हुने भन्ने उल्लेख गरिएको छैन ।
सरकारी सेना र विद्रोहीवीच भएको संघर्षका कारण गएको वर्ष जुलाई देखि १८ हजार शरणार्थी बन्दी सरह जीवन बिताउन बाध्य छन् । संघर्षका कारण यार्मूक क्षेत्रमा औषधी र खाद्यान्नको आपूर्ति लगभग बन्द भएको छ ।
पछिल्लो दुई हप्तामा प्यालेष्टिनी शरणार्थीका लागि राष्ट्रसंघीय एजेन्सीले खाद्यान्न वितरण गर्न समेत नपाएको बिबिसीले जनाएको छ । सिरियाको यार्मूकमा सन् १९४८ मा अरब–इजरायल युद्धका कारण भागेका प्यालेष्टिनी शरणार्थीहरुका लागि पहिलो पल्ट शिविर स्थापना गरिएको थियो ।
सन् २०१२ को अन्त्य तिर सशस्त्र विपक्षी समूह शिविरमा प्रवेश गरेदेखि शिविरलाई लक्षित गरी पटक पटक आक्रमण हुँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]