जुत्ता बचाउन खोज्दा जागिर चट

२०७१ असार १२ गते, बिहीबार


काठमाडौं- बाढी प्रभावित एक गाउँ अवलोकनमा गएका एक चिनियाँ अधिकारीले आफ्नो जुत्ता भिज्नबाट बचाउन गाउँलेको पिठ्युमा चढेपछि उनलाई जागिरबाट बर्खास्त गरिएको छ। चीनको दक्षिणपूर्वी क्षेत्रमा मध्य जुनमा आएको बाढीबाट हजारौ मानिस विस्थापित भएका थिए । पूर्वी प्रान्त जियांग्सीको लैटियन गाउँ पानीमा डुबेको थियो । पानीबाट अधिकारीको जुत्ता बचाउन उनलाई ढाडमा बोकेर लैजाँदै गरेको तस्वीर इन्टरनेटमा व्यापक भएको थियो ।
चाइन रेडियो इन्टरनेशनलका अनुसार वांग नामका यी अधिकारी एक नदीमा पानी बढेका कारण बेपत्ता भएका गाउँका बच्चा खोज्न गएका थिए ।
अधिकारीलाई बुँई गरेर बोक्ने ग्रामीण युवक डिंग हुन् । उनी क्लर्क हुन् ।उनले हिलो र पानीबाट बचाउन अधिकारीलाई बोक्ने प्रस्ताव गरेका थिए । तर, डिंगको यो प्रस्ताव स्वीकार गर्नु वांगका लागि निकै महंगो सावित भयो ।
सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्थानीय प्रशासनले यो ‘अनपयुक्त व्यवहार’को नकारात्मक सामाजिक असर पर्ने र यसबाट पार्टीका अधिकारीको छवि खराब हुने ठहर गरेको हो ।

इपोक टाइम्सका अनुसार यो पहिलो घटना होइन । गत वर्ष झेजियांग प्रान्त भ्रमणमा गएका कम्युनिष्ट पार्टीका युवा अधिकारीलाई रबरको जुत्ता लगाएका एक वृद्ध व्यक्तिले बोकेर लग्दै गरेको तस्वीर सार्वजनिक भएको थियो । उक्त अधिकारीलाई स्थानीय सरकारको निर्माण कार्यालयको निर्देशक पदबाट हटाइएको थियो ।
एक ब्लगरलाई उधृत गर्दै भनिएको थियो–यदि तपाई हावामा रहने हिम्मत गर्नुहुन्छ भने नागरिकलाई तपाईलाई जमिनमा आउन बाध्य पार्ने छन् ।
सिन्ह्वाका अनुसार जियांग्सीमा १६ जुनमा भएको भारी वर्षाका कारण १८ हजार ५ सय बढी मानिस विस्थापित भएका छन् । एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]