राष्ट्रसङ्घका महासचिव गुटेरेसलेद्वारा विश्वव्यापी एकताको आह्वान

२०८१ असार २१ गते, शुक्रबार


काठमाडौँ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी एकताको आह्वान गरेका छन् । उनले राष्ट्रसङ्घको महत्त्वपूर्ण साझेदारका रूपमा साङ्घाई कोअपरेसन अर्गनाइजेसन एससीओको भूमिकालाई जोड दिँदै कठिन विश्वव्यापी परिस्थितिका बीच विश्वव्यापी एकताका लागि आग्रह गरेका हुन्।
महासचिव गुटेरेसले अस्तानामा आयोजित एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै विश्वव्यापी चुनौतीको समाधानका लागि व्यक्तिगत प्रयासभन्दा सामूहिक ऐक्यबद्धताको आवश्यकतामा जोड दिदै भने -“यी विश्वव्यापी चुनौतीलाई कुनै पनि राष्ट्रको एकल पहलमा समाधान गर्न सकिँदै। ”
महासचिव गुटेरेसले विश्वव्यापी रूपमा दिगो विकास र मानव अधिकारको उपभोगका लागि शान्तिको वकालत गर्दै संयुक्त राष्ट्रसङ्घको बहुपक्षवादको केन्द्रीय भूमिकालाई उल्लेख गरे। उनले गाजा, युक्रेन र अफगानिस्तानजस्ता द्वन्द्व क्षेत्रमा तत्काल मानवीय युद्धविराम र समावेशी शासनका लागि आग्रह गरे।
महासचिव गुटेरेसले जलवायु सङ्कटलाई सम्बोधन गर्दै महत्त्वाकाङ्क्षी उत्सर्जन कटौती र जलवायु न्यायको आवश्यकतामा जोड दिँदै भने, “जलवायु परिस्थिति बिग्रिँदैछ, यसले पानी र खाद्य सुरक्षालाई खतरा पुर्‍याइरहेको छ र राजनीतिक अस्थिरतालाई बढावा दिइरहेको छ।”
महासचिव गुटेरेसले विकसित देशहरूलाई जलवायु कार्यलाई समर्थन गर्न नवीन वित्तीय संयन्त्रहरू अवलम्बन गर्न आग्रह गरेका छन्।
प्राविधिक क्षेत्रको अनियमित प्रयोगविरुद्ध चेतावनी दिँदै गुटेर्रेसले दिगो विकासका लागि आर्टिफसियल इन्टेलिजेन्स एआईको सम्भावनालाई प्रकाश पारे। उनले एआईसम्बन्धी नीतिहरूलाई आकार दिन समावेशी विश्वव्यापी सहभागिताको आवश्यकतामा जोड दिएका हुन्।
विश्वव्यापी शासन संस्थाहरू पुरानो र समकालीन चुनौतीहरूलाई सम्बोधन गर्न अपर्याप्त भएको भन्दै महासचिव गुटेर्रेसले यसको सुधार आवश्यक रहेको बताए। उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सुधारको प्रस्ताव राख्दै आजको विश्वको वास्तविकतालाई प्रतिबिम्बित गर्ने नयाँ विश्वव्यापी एजेन्डा तयार गर्न वकालत गरेका छन्। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]