एमाले महाधिवेशनको बन्दसत्र सुरु हुँदै
काठमाडौ,२० असार । एमालेको नवौ महाधिबेशनमा आजदेखि बन्दसत्र सुरु हुँदैछ । आज दिउँसो १ बजेदेखि सुरु हुने बन्दसत्रमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिबेदन र सचिव युवराज ज्ञवालीको विधान संसोधन मस्यौदा प्रस्तुत हुने एमालेले जनाएको छ ।
एमालेको महाधिवेशन भृकुटीमण्डपमा बिहिबार देखि जारी छ । आजदेखि सुरु हुने बन्दसत्रमा अध्यक्ष खनालले केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, जेष्ठ कम्युनिष्ट मञ्च र अनुशासन कमिटीका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रस्ताव पेश गर्ने कार्यक्रम छ । केन्द्रीय कमिटीले आयोजकहरु स्वतः महाधिबेशन प्रतिनिधि हुने निर्णय गरिसकेको छ । उक्त निर्णय महाधिवेशनबाट पारित भएपछि मात्रै लागु हुने भएकोले अध्यक्षले प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।
प्रताव पारित भएपछि केन्द्रिय कमिटी, सल्लाहाकार कमिटी, लेखा आयोग, अनुशासन आयोग र जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य गरी झण्डै २ सय ५० जना पदेन प्रतिनिधि हुनेछन् । नवौं महाधिशेनको लागि यी सहित २ हजार २ सय १४ जना प्रतिनिधि चयन भैसकेका छन् । एमालेको विधान अनुसार ५ प्रतिशत अर्थात १ सय ११ जनाको मनोनयन आज नै गर्ने तयारी छ ।