काभा महिला भलिबलका उपविजेता खेलाडीलाई नगदसहित सम्मान

२०८१ श्रावण २४ गते, बिहीबार


काठमाडौँ । काठमाडौं महानगरले काभा महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई नगदसहित सम्मान गरेको छ । महानगरले उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहित सम्मान गरेको हो ।
त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
सम्मान प्राप्त गर्ने खेलाडीहरूमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् ।
खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् । यस्तै, लोकेन्द्रबहादुर कुँवर थेरापिष्ट हुन् । त्यस अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए ।
‘तपाईँहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । खेलमा कुनै कमजोरी थिएन’ उनले भने, ‘उपविजेता टोलीले हामीजस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गएको छ। यो विषय छुटेको महसुस गराएको छ ।’
यस्तै, उपप्रमुख सुनिता डंगोलले, उत्साह र जोश लिएर खेल मैदानमा जानु नै जित भएको उल्लेख गरिन् । सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले हानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख बताए ।
यस्तै, टिम क्याप्टेन अरुणा शाहीले राम्रो खेल्ने टिमबाट धेरै कुरा सिक्ने अवसर पाएको बताइन् । काठमाडौंको दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा ३–२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका हुन् । खेलमा ५ वटा देश सहभागी थिए ।

प्रतिक्रियाहरु

[anycomment]