परराष्ट्र नीति नहुनाले नेपाल स्वाधिन हुन सकेनः गजुरेल

काठमाडौ ।नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले नेपालको परराष्ट्र नीति नहुनाले राष्ट्र स्वाधिन हुन नसकेको बताएका छन् । उपाध्यक्ष गजुरेलले सो कुरा बुधवार संवाद डवलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बताएका हुन् । प्रा.डा. गोपाल सिवाकोटीद्वारा लिखित ‘संक्रमणमा नेपालको परराष्ट्र सम्बन्ध’ नामक पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै गजुरेलले भारतलाई उत्तेजित बनाउन नहुने तर उसले गरेको हस्तक्षेप सहेर बस्नु नहुने बताए । ‘चीन र भारतलाई समदुरीमा राखेर व्यवहार गर्नुपर्छ’, उनले भने, ‘छिमेकी देशहरुसँग असंलग्न नीति नै प्रयोग गर्नुपर्छ ।’
भारत अंग्रेजहरुबाट स्वतन्त्र भएपनि नेपालको सर्न्दर्भमा भरतीय शासकहरु अंग्रेजकै प्रतिनिधि भएर देखा परेको गजुरेलले बताए । उनले भने, ‘नेपाललाई अधिनस्त पार्ने प्रयास हामीलाई स्वीकार्य छैन ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराज नेपाल आउन लागेको सर्न्दर्भमा उपाध्यक्ष गजुरेलले नयाँ राष्ट्रघात हुनसक्ने तर्फसचेत गराए । उनले सिवाकोटीद्वारा लिखित पुस्तक नेपालका सबै तह र तप्कालाई पढ्नैपर्ने पुस्तकको रुपमा आएको पनि बताए ।
कार्यक्रममा एमाओवादी स्थायी समिति सदस्य राम कार्कीले नेपालको परराष्ट्र नीति भारतबाट ७० प्रतिशत, २० प्रतिशत चीनबाट र अन्य देशबाट १० प्रतिशत अख्तियार हुने गरेको दाबी गरे । नेता कार्कीले नेपालीहरुले रोज्ने बाटो भुटानको नभइ क्युवाको जस्तो हुनपर्ने पनि बताए । उनको तर्क थियो, भारतलाई उत्तेजित पार्नु हुँदैन तर नेपालको हितमा नहुने कुरा मान्नुपर्ने भन्ने पनि होइन ।’ उनको विचारमा भारतसँग डिलिङ गर्ने नेतृत्वको अभाव नेपालमा रहेको छ ।
राजनीतिशास्त्री प्रा. कृष्ण खनालले भारतकोजस्तो अरु देशसँग लेनदेनका विषयमा राम्ररी नहेरीनु र नेपालमा परराष्ट्र नीति नहुनु दुःखद पक्ष भएको दावी गरे । ‘नेपालले अझै संघीयतासहितको संविधान पाउन मुस्किल छ’ खनालले भने, ‘यसमा छिमेकी मुलुक चीन र भारत त्यति सकारात्मक छैनन् ।’
नेपाल बौद्धिक मञ्चका अध्यक्ष डा. केवी रोकायाले देशमा चिन्ता गर्ने पार्टी नेता नभएकाले जनताले स्वाधिनता गुमाउनु परेको बताए । उनले भने, ‘यो सब भाग्यवादी चिन्तनले काम गरेको छ ।’
सोही कार्यक्रममा प्रा.डा. सुरेन्द्र केसीले नेपालको परराष्ट्र नीति नबने पनि देशमा गतिलो राजनेता नभएकाले संक्रमण कालको अन्त्य नभएको बताए । १४ देशमा राजदूत नियुत्तिm गर्न नसकेको प्रसंग उल्लेख गर्दै केसीले भने, ‘एक करोडमा राजदूतको पद किन्न पाइन्छ र नेपालका राजदूत लण्डनमा शरणर्थी हुन तयार भएको देख्नु यसैको प्रमाण हो ।’
पुस्तका लेखक सिवाकोटीले नेपालको परराष्ट्र नीति व्यक्ति र शासकको स्वार्थमा आधारित भएकाले नेपाल खतरामा रहेको दावी गर्दै भने, ‘वैदेशिक रोजगारी र सहयोगले नेपाल खतरामा छ ।’
कार्यक्रममा संवाद डबलीका अध्यक्ष दीपेन्द्र रोकायाले राजनीतिशास्त्री प्रा.डा. गोपाल शिवाकोटी बौद्धिक क्षेत्रको प्रेरणादायी व्यक्ति रहेको चर्चा गरे । उक्त पुस्तक पैरवी प्रकाशनले प्रकाशित गरेको हो ।