आर्थिक सर्वेक्षण सार्वजनिक गरिदै

२०७१ असार २६ गते, बिहीबार

काठमाडौ, २६ असार । सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्ने भएको छ ।आज अपरान्ह १ बजे व्यवस्थापिका संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत हुने अर्थमन्त्रालयका एक अधिकारीले जानकारी दिए । आर्थिक सर्वेक्षण अनुसार मुलुकको कुल गार्हस्थ उत्पादन, जिडिपी अर्थात आर्थिक वृद्धिदर ५ दशमलव २ प्रतिशतले बढेको छ ।
मौसमी अनुकुलता, लगानीको बातावरणमा सुधार तथा समयमै बजेट आएका कारणले आर्थिक वृद्धिदर उच्च भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । सरकारले यो वर्ष ५ प्रतिशतको हाराहारीमा जीडीपी बढ्ने प्रक्षेपण गरेको थियो । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ वर्ष यताकै उच्च हो ।
चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रमा कृषि र उद्योगको योगदान घटेको छ भने सेवातर्फको योगदान बढेको छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३ दशमलव ५ प्रतिशतको हाराहारीमा मात्रै थियो ।
मुलुकको समग्र आय भने २ खर्ब ६१ अर्ब रुपैयाँले बढेको छ । कुल राष्ट्रिय आय प्रचलित मूल्यमा १९ खर्ब ६६ अर्ब ७ करोड रुपैयाँ पुगेको अर्थ मन्त्रालय श्रोतले जनाएको छ । यसअघि आर्थिक वर्ष २०६४/६५ मा ५ दशमलव ८ प्रतिशतले आर्थिक वृद्धि भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु