सडक विस्तार र मर्मतमा समस्या
काठमाडौं, २८ असार ।सडक बिस्तार, मर्मत तथा पुनर्निर्माणको काममा सम्बन्धित निकायबीच समन्वय गर्न बनाउने भनिएको समिति बन्न नसक्दा सडक विस्तार तथा मर्मतको काममा समस्या देखिएको छ । सरोकारवाला सबै निकायबीच समन्वय गर्नका लागि ७/८ महिना अघिदेखि नै समिति बनाउने भनिएको थियो । तर अझै सम्म पनि समिति गठन हुन नसक्दा एउटा निकायले सडक बनाईनसक्दै अर्कोले भत्काउने काम रोकिन सकेको छैन ।
सडकसँग सम्बन्धित निकायबीच आपसी समन्वयका लागि मुख्य सचिव लिलामणि पौडेलले प्रयास गरिरहेका छन् ।काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले सबै निकायबीच एकअर्काको कार्यक्रमबारे जानकारी हुने र मिलेर काम गर्ने गरी केन्द्रियस्तरको संयन्त्र बनाउने तयारी भएको जानकारी दिए ।
काठमाडौंमा भएको सडक विस्तार, मर्मत तथा पुननिर्माणको काममा समन्वय नहुँदा अहिले धेरैजसो सडकमा गाडीको आवातजावतमा निकै समस्या भएको छ । विस्तार गरेर कालोपत्रे गरिसकिएको सडकमा विद्युतको हाईटेन्सन लाईन, खानेपानीको पाईप, टेलिकमको तार र ढल बिच्छ्याउन खन्ने गरिएको छ ।
सडकको काममा सम्बन्धित निकायसँगको समन्वयसँगै जनसरोकारका विषयमा खर्च गर्ने बजेटको निकासा गर्ने प्रक्रिया तथा सार्वजनिक खरिद प्रक्रिया पनि झण्झटिलो हुँदा पनि समस्या देखिएको छ ।