एमाले निर्वाचनको मतगणना जारी
काठमाडौँ, ३० असार । एमालेमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।आइतबार राति १० बजेपछि स्थगित मतगणना बिहान पौने १० बजेदेखि सुरु भएको मतगणनामा रहेका प्रतिनिधि एवं बुधबार साप्ताहिकका सम्पादक विष्णु रिजालले जानकारी दिए ।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा जारी मतगणनाको आइतबार रातिसम्मको परिणामअनुसार नेता केपी शर्मा ओलीले अग्रता लिएका छन् । पदाधिकारीमा ओली समूहकै अधिकांश नेताको अग्रता कायमै छ ।उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा पनि ओली समूहकै अधिकांश नेताहरु अगाडि छन् । उपाध्यक्षमा ओली समूहकै वामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, धर्मनाथप्रसाद साह र किरण गुरुङले अग्रता लिएका छन् ।
महासचिवमा ओली समूहका ईश्वर पोखरेलले नेपाल समूहका सुरेन्द्र पाण्डेभन्दा २८ मतले अगाडि छन् ।उपमहासचिवमा पनि ओली समूहका विष्णु पौडेल र शंकर पोखरेलले अग्रता लिएका छन् । सचिवमा नेपाल प्यानलका गोकर्ण विष्टबाहेक बाँकी चार जना ओली समूहका उम्मेदवारले अग्रता लिएका छन् । सचिवमा सवैभन्दा बढी मत प्रदीप ज्ञवालीको छ ।