इजरायलले हिजबुल्लाहविरुद्ध कारबाही चर्कायो

काठमाडौँ । इजरायली सेनाले हिजबुल्लाह समूहविरुद्ध दक्षिणी लेबनानमा जारी कारबाहीलाई थप विस्तार गरेको छ। इजरायली रक्षा मन्त्री इस्रायल काट्जले स्थल सेनाको अभियान विस्तार गरिएको जानकारी दिए। इजरायलले गत महिनाको सुरुमा सीमित स्थल सेना परिचालनको घोषणा गरेको थियो। यसअघि मंगलबार र बुधबार इजरायली सेनाले बेरुतको दक्षिणी क्षेत्रमा २० भन्दा बढी हवाई आक्रमण गरेको थियो भने हिजबुल्लाह समूहले ५० भन्दा बढी रकेट इजरायली भूमिमा प्रहार गरेको थियो।
इजरायली रक्षामन्त्री काट्जले हिजबुल्लाह निशस्त्र हुनेबाहेक कुनै पनि सर्तमा कारबाही नरोकिने र युद्धविराम नहुनेसमेत स्पष्ट पार्नुभएको सीएनएनले जनाएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारदेखि लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा कम्तिमा २० बालबालिकाको मृत्यु भएको छ।
युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार लेबनानका बालबालिकाहरु यस युद्धको सबैभन्दा घातक चरणको सामना गरिरहेका छन्। हालसम्म इजरायली आक्रमणमा लेबनानमा २ हजार ६८३ जनाले ज्यान गुमाएका छन् भने १२ हजार १४४ जना घाइते भएका छन्। – एजेन्सी