गौशालामा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सीमाभित्र अतिक्रमण गरी बनाइएका संरचना भत्काउन डोजर चलाएको छ। महानगरपालिकाले गैरकानुनी तवरबाट सरकारी जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउँदै आएको छ। यसैबीच, गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएपछि सायमीसहितका युवाहरू आएर अवरोध गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत गौशालामा राखिएको गौशाला प्रहरी वृतका डीएसपी सुकदेव खनालले बताउदै भने- ‘ महानगररको काममा अवरोध गर्न खोजेपछि तीनजनालाई हामीले नियन्त्रणमा लिएका हौ। अहिले उनीहरुलाई गौशाला प्रहरी वृत्त परिसरकै प्रतिक्षालयमा राखेका छौं।’
चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको छ । चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको बताएका थिए ।