एमाले केन्द्रीय सदस्यको मतगणना जारी
काठमाडौ, ३२ असार ।  नेकपा एमालेको केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ । करिब ३ सय मत मात्रै गन्न बाँकी रहेकाले १२ बजेसम्म परिणाम आउने अपेक्षा गरिएको छ । पदाधिकारीमा अध्यक्षमा नेता केपी शर्मा ओली आफ्ना प्रतिस्पर्धी माधवकुमार नेपालभन्दा ४४ मत बढी ल्याएर विजयी भएका छन्   ।  नेता ओलीले एक हजार ४७ र नेपालले  १ हजार ३  मत प्राप्त गरेका थिए  ।त्यसैगरी उपाध्यक्षमा भीमबहादुर रावल एक हजार एक सय ४३,  वामदेव गौतम एक हजार एक सय २४, विद्यादेवी भण्डारी एक हजार एक सय,  युवराज ज्ञवाली एक हजार ६२ र अष्टलक्ष्मी शाक्य एक हजार ४७ मत ल्याएर विजयी भएका छन्  । उपाध्यक्षका प्रतिस्पर्धी राजेन्द्रप्रसाद पाण्डे एक हजार ३१,  प्रदीप नेपाल एक हजार आठ,  लालबाबु पण्डित नौ सय ९८, किरण गुरुङ नौ सय ९५ र धर्मनाथप्रसाद साह नौ सय २३  मत प्राप्त गरेर पराजित भएका छन्  ।
त्यस्तै महासचिवका उम्मेदवार ईश्वर पोखरेल एक हजार ३६ मत ल्याएर विजयी भएका छन् ।  उनका निकटम प्रतिद्वन्द्वी सुरेन्द्रप्रसाद पाण्डेले एक हजार ३० ल्याएका थिए ।  उपमहासचिवमा घनश्याम भुसाल एक हजार ९७ र  विष्णुप्रसाद पौडेल एक हजार ८२ मत ल्याई विजयी भएका छन् ।
सो पदका प्रतिस्पर्धी शङ्कर पोखरेल एक हजार ३७ र रघुजी पन्त ९६९ मत प्राप्त गरी पराजित भएका छन् ।सचिवका उम्मेदवारमा गोकर्णराज विष्ट एक हजार दुई सय ७०, प्रदीपकुमार ज्ञवाली एक हजार एक सय ५५, योगेश भट्टराई एक हजार ८५, भीमप्रसाद आचार्य एक हजार ३५ र  पृथ्वी सुब्बा गुरुङ एक हजार २९ मत  ल्याएर विजयी भएका छन्  । चौध पदाधिकारीमा अध्यक्ष ओली र प्रतिस्पर्धी नेपालका दुवै पक्षमा सात सात जना  छन् ।
