युक्रेनस्थित अमेरिकी दूतावास बन्द

काठमाडौँ । अमेरिकाको कन्सुलर मामिला विभागले युक्रेनको राजधानी किभस्थित अमेरिकी दूतावास बन्द गरिएको जनाएको छ । विभागले सामाजिक सञ्जाल एक्समा सम्भावित हवाई आक्रमणको जानकारी पाएको उल्लेख गर्दै दूतावास बन्द गरिएको जनाएको छ । विभागले एक्समा लेखेको छ “किभस्थित अमेरिकी दूतावासले बुधबार (नोभेम्बर २०) मा सम्भावित महत्त्वपूर्ण हवाई आक्रमणको विशेष सूचना प्राप्त गरेको । ” दूतावासले आफ्ना कर्मचारीलाई सेल्टरमा बस्न भनेको छ । त्यस्तै त्यहाँ रहेका अमेरिकी नागरिकहरुलाई पनि साइरन बजेमा तत्काल सेल्टरमा जान पनि भनेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रुसी भूमिमा लामोदुरीका मिसाइल हान्न अनुमति दिएसँगै रुससँगको युद्ध चर्किने सम्भावना बढेको छ ।
युक्रेनीले रुसी भूमिमा टाढासम्म आक्रमण गर्न थालेसँगै रुसले आफ्नो आणविक हतियार प्रयोग गर्ने नीति समेत परिमार्जन गरेको छ । यसबीच किभस्थित अमेरिकी दूतावासले ठूलो हवाई आक्रमण हुनसक्ने जानकारी पाएको जनाएको हो ।