प्रधानमन्त्री कोइराला स्वदेश फर्कदै
काठमाडौ, ६ साउन । अमेरिकामा एक महिनाको स्वास्थ्य उपचारपछि प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फर्कंदै छन् । फोक्सोमा क्यान्सर देखिएपछि उनी उपचारार्थ असार २ गते अमेरिका गएका थिए । कोइराला नेपाल फर्कने दिन नै एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली उपचारकै सिलसिलामा थाइल्यान्ड जाने भएका छन् । झन्डै एक महिनाअघि थाइल्यान्डको बैंककबाट उपचार गराएर फर्केका ओली ‘फलोअप’ का लागि जान लागेका हुन् । उनको बसाइ कति लामो हुन्छ भन्ने यकिन भइसकेको छैन ।सरकार गठबन्धनका प्रमुख दुई दलका शीर्ष नेता उपचारका लागि यसरी एकपछि अर्को गर्दै विदेश धाइरहनुपर्ने अवस्थाले २६ सभासद मनोनयन, राजदूत र संवैधानिक पदाधिकारी नियुक्तिलगायत विषय भने झनै पर धकेलिने भएको छ । प्रधानमन्त्री कोइराला अमेरिका जानुअघि एमाले नेता ओली थाइल्यान्डमा उपचाररत थिए । ओलीको अनुपस्थितिकै कारण त्यतिबेला सभासद नियुक्तिको मुद्दा थाँती रहेको थियो । ओली फर्केलगत्तै कोइराला अमेरिका गए । प्रधानमन्त्रीको अनुपस्थितिले यी विषयमा छलफलसमेत भएनन् ।
एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि ओली पार्टीको मुख्य भूमिकामा छन् । कार्यवाहक जिम्मेवारी दिएर गए पनि उनको अनुपस्थितिले २६ सभासद मनोनयनलगायत राजनीतिक मुद्दाहरू सहजै हल हुन नसक्ने कांग्रेस नेताहरू बताउँछन् । ‘प्रधानमन्त्री फर्केपछि रोकिएको एआईजी बढुवाको निर्णय होला,’ कांग्रेसका एक मन्त्रीले भने, ‘तर २६ सभासदको मनोनयन र राजदूत नियुक्तिलगायत विषय फेरि लम्बिन सक्ने देखिन्छ ।’ एमाले सचिव एवं पर्यटनमन्त्री भीम आचार्य भने पार्टी अध्यक्ष ओलीको अनुपस्थितिका कारण थाँती रहेका विषयमा सहमति जुटाउन अप्ठ्यारो नपर्ने बताउँछन् । ‘अध्यक्षज्यू उपचारका लागि गएपछि कार्यवाहक जिम्मेवारी छाडेर जानुहुन्छ, कार्यवाहक जिम्मेवारी पाएकाले सबै काम अघि बढ्छ,’ आचार्यले भने, ‘प्रधानमन्त्री फर्कनासाथ २६ सभासद नियुक्तिलगायत कामको प्रक्रिया अघि बढ्छ । रोकिँदैन ।’
प्रधानमन्त्री कोइराला फलोअपका लागि ३ महिनापछि पुनः अमेरिका जानेछन् । उनले उपचार गराएको न्युयोर्कस्थित स्लोन क्याटरिङ क्यान्सर सेन्टरले तीन महिनापछि फलोअपका लागि बोलाएको छ ।