वैदेशिक व्यापारमा सुधार

काठमाडौँ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक बर्षको पहिलो पाँच महिना (साउन-मंसिर)मा नेपालको वैदेशिक व्यापारमा देखिएको बृद्धिसँगै सुधार देखिएको छ । विभागको पछिल्लो तथ्याङ्क अनुसार मंसिर मसान्तसम्म नेपालबाट ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो तथ्याङ्क गत बर्षको तुलनामा १६.५४ प्रतिशतले बढी हो। गत बर्ष मंसिर मसान्तसम्म नेपालबाट ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ मात्रैको वस्तु निर्यात भएको थियो।
नेपालले निर्यात व्यापार एक महिनामै २० अर्ब ९८ करोड ९० लाख ६१ हजार रुपैयाँले बृद्धि गरेको हो। गत कार्तिक मसान्तसम्म नेपालबाट ५२ अर्ब ६७ करोड ७ लाख १० हजार रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको थियो।
पाँच महिनाको अवधिमा नेपालमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। जुन गत बर्षको तुलनामा ३ प्रतिशत बढी हो । गत आवको मंसिर मसान्तसम्म नेपालले ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको बस्तु आयात गरेको थियो।
गत आर्थिक बर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक बर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार ४.२१ प्रतिशतले बढेको छ। पाँच महिनामा नेपालले विभिन्न मुलुकहरूसँग कुल ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार रुपैयाँ बराबरको व्यापार गरेको विभागको तथ्याङ्क छ। गत बर्ष सोही अवधिमा नेपालले ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपैयाँ बराबरको व्यापार गरेको थियो। नेपालबाट १ सय ४९ ओटाभन्दा बढी मुलुकमा व्यापार हुँदै आएको छ।
आयात, निर्यात बढेसँगै मुलुकको व्यापार घाटा पनि बढेको छ। गत बर्षको तुलनामा निर्यात उच्च रूपमा बढेको भए पनि आयातको तुलनामा निकै कम देखिन्छ। जसले गर्दा पाँच महिनामा नेपालले ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको छ। जुन गत आवको पहिलो पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १.२२ प्रतिशतले बढेको हो। गत बष मंसिर मसान्तसम्म नेपालको व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपैयाँ थियो।
नेपालको व्यापार घाटा एक महिनामै २१ अर्ब ७७ करोड ७३ हजार रुपैयाँले बढेको छ। कार्तिक मसान्तसम्म यस्तो घाटा ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख ४९ हजार रुपैयाँ मात्रै थियो।
भारतबाट पाँच महिनामा ४ खर्ब १० अर्ब ५५ करोड ६६ लाख ८४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ५२ अर्ब १ करोड ३ लाख २९ हजार रुपैयाँको निर्यात भएको विभागको तथ्याङ्क छ। भारतसँग मात्रै नेपालको व्यापार घाटा ३ खर्ब ५८ अर्ब ५४ करोड ६३ लाख ५५ हजार रुपैयाँ रहेको छ। त्यस्तै, भारतपछि नेपालमा सबैभन्दा बढी चीनबाट वस्तु आयात हुँदै आएको छ। नेपालले पाँच महिनामा वस्तु आयातका लागि १ खर्ब ३१ अर्ब ३७ करोड ७४ करोड ३५ हजार रुपैयाँ चीन पठाएको छ। सोही अवधिमा नेपालबाट भने १ अर्ब ७४ करोड ५८ लाख २६ हजार रुपैयाँ बराबरको सामान मात्रै चीन गएको छ। नेपालको चीनसँगको व्यापार घाटा १ खर्ब २९ अर्ब ६३ करोड १६ लाख ८ हजार रुपैयाँ बराबर रहेको छ।
त्यस्तै, अर्जेन्टिनाबाट ११ अर्ब ८० करोड ७ लाख २८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ९ लाख ९६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ। अर्जेन्टिनासँग नेपालको व्यापार घाटा ११ अर्ब ७९ करोड ९७ लाख ३२ हजार रुपैयाँ पुगेको छ। यसैगरी, पाँच महिनामा नेपालले १० अर्ब ५६ करोड ९७ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेर ३५ लाख २३ हजारको वस्तु निर्यात गरेको छ। युक्रेनसँग नेपालको व्यापार घाटा १० अर्ब ५६ करोड ६१ लाख ८९ हजार रुपैयाँ छ।
सबैभन्दा बढी वस्तु निर्यात हुने अमेरिकाबाट भने नेपालले पाँच महिनामा ८ अर्ब ३९ करोड १० लाख ३७ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। भारतपछि सबैभन्दा बढी वस्तु निर्यात हुने अमेरिकाबाट पाँच महिनामा ७ अर्ब ३४ करोड ७० लाख ६१ हजार रुपैयाँ भित्रिएको छ। यद्यपि, अमेरिकासँग नेपालको व्यापार घाटा १ अर्ब ४ करोड ३९ लाख ७६ हजार रुपैयाँ व्यापार घाटा छ।
नेपालबाट पाँच महिनामा सबैभन्दा बढी सोयाबिन तेल, अलैँची, सूर्यमुखी तेल, कार्पेट र चिया निर्यात भएको देखिन्छ। निर्यात भएका वस्तुमध्ये पहिलो नम्बरमा सोयाबिन तेल पर्छ। पाँच महिनाको अवधिमा नेपालबाट ८ अर्ब ३६ करोड ८१ लाखको सोयाबिन तेल निर्यात भएको हो। दोस्रोमा भने अलैँची रहेको छ। नेपालबाट पाँच महिनामा ३ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको विभागले जनाएको छ। तेस्रोमा नम्बरमा सूर्यमुखी तेलको निर्यात भएको छ।
पाँच महिनामा २ अर्ब ९७ लाख ६१ करोडको निर्यात भएको छ। सूर्यमुखी तेल विशेष गरी भारत निर्यात भएको छ। कार्पेट निर्यात पनि उत्साहजनक छ। मंसिर मसान्तसम्म २ अर्ब ८३ करोड ५४ लाखको कार्पेट निर्यात भएको छ। यस अवधिमा २ अर्ब ५६ करोड ९५ लाखको कालो चिया निर्यात भएको छ। कालो चिया भारतमै निर्यात भएको छ। मङ्सिर मसान्तसम्ममा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ। यो अवधिमा ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार रुपैयाँ बराबरको डिजेल २६ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको पेट्रोल २४ अर्ब २२ करोड ९१ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ। त्यस्तै, २० अर्ब ९६ करोड रुपैयाँ बराबरको फलामजन्य वस्तु र १० अर्ब ३५ करोड ६१ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।