भारतद्वारा नेपालको एक हजार बिघा जमिन अतिक्रमण !

२०८१ पुष ११ गते, बिहीबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको ठोकुवा गरेका छन् । उनले बिहीबार विज्ञप्ति जारी गर्दै भारतीय पक्षले जमिन कब्जा गरी खेतीपाती समेत गरिरहेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको जग्गा भारतीयहरूले कब्जा गरेको र नेपालतिरबाट सो क्षेत्रमा आवागमनको समेत समस्या भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
आफ्नो उदयदेखि नै स्वतन्त्र रहेको मुलुक तथा कुनै स्वतन्त्रता दिवस नमनाएको कहिल्यै कसैको अधिनस्थ नभएको नेपाल मूलतः दक्षिणी सीमाबाट एकपछि अर्को सीमा अतिक्रमणहरू निरन्तर हुँदै आएको उनले बताए । उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमण त छँदै छ, सुस्ता र अन्य कतिपय ठाउँमा पनि समस्या छँदैछन् । अहिले आएर भारतीय पक्षबाट भएको अर्को गम्भीर अतिक्रमणको घटना खुलासा भएको छ ।’
नेता खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब एक हजार बिघा (करिब ६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आएको छ । यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र हो । त्यो निकुञ्जको जंगल भएको क्षेत्र हो । त्यहाँ पुग्न आवागमनको पनि समस्या छ र निकुञ्जको सुरक्षाका कारणले नेपालतिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन । तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ ।’
नेता खनाल यो अत्यन्त गम्भीर घटना भएको र देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि दुई तिहाई भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरबाहीको चरम अभिव्यक्ति भएको बताउँदै अतिक्रमण रोक्न सरकारले कुनै कदम नचालेको आरोप लगाएका छन् । उनले अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न निरीक्षण टोलीका साथै प्रहरी प्रशासन पठाउन र भारत सरकारसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु