मोदी समक्ष उठाउनु पर्ने विषयहरु – भारत दाहाल
“हामी कसैका विराेधि हाेइनाैं, मोदीसंग यी विषयहरु उठाउ , तिम्रो राष्ट्रवादको परिचय देउ” दिल्लीका चाटुकार भाटहरुले देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको पक्षमा नेपालीहरूले उठाएको आवाजलाई विकास विरोधि भन्न थालेका छन् । हामी न विकास विरोधि हौं न त भारतसंग गरिने कुनै पनि सम्मानजनक संधिसंझौताका विरोधि छौं । छरछिमेकीहरुसंग अरुसंगको भन्दा दीगो संबन्ध हुनुपर्छ भन्ने तथ्यका बारेमा चाटुकारहरुभन्दा हामी बढि जानकार छौं । चाटुकारहरु दिल्लीका भाट मात्रै होइनन् भने नरेन्द्र मोदी समक्ष यी विषयहरु उठाउन् । यी विषयहरुलाई आम जनताका बीचमा लैजाने प्रयास हामी सबैबाट हुन जरुरी छ, ताकी चाटुकारहरुले भ्रम सिर्जना गर्न नपाउन् ।
(१)महाकाली संधिमा नेपाल नराम्ररी ठगिएको स्विकार गरी त्यसलाई समान हितका आधारमा परिमार्जन गर्ने भनि तात्कालिन संसदले पारित गरेको संकल्प प्रस्ताव कार्यान्वयनको मुद्दा उठाउ र त्यस संधिबाट महिनाको १ खर्ब २० अर्ब नगद आम्दानी हुन्छ भनि प्रचार गर्ने दलालहरुलाई सो रकमबारे जनताको बीचमा प्रष्टिकरण दिन लगाउ ।
(२)भारतले एकलौटी रुपमा उपयोग गर्दै आएको गण्डकि र नेपाललाई बर्बाद पारेर अधिकांश फाईदा लुट्दै आएको कोशी संझौतालाई परिमार्जन गरेर समानताका आधारमा संधि नविकरण गर्ने कुरा उठाउ ।
(३)एउटा संझौता कार्यान्वयन नगरि नदिहरु कब्जा मात्र गर्ने कुनियतले भारतले संझौतामा दबाब दिंदै जाने र पानी कब्जा गरेर मात्र राख्ने भारतीय योजनालाई अस्विकार गर र त्यसरी अकर्मण््य रुपमा राखिएका संधिसंझौताहरु खारेज गर ।
(४)भारतले तराइका गाउँहरु डुबानमा पारेर पानी जम्मा गर्र्ने गरि बनाएका अनाधिकृत सिमावर्ति बाँधहरु भत्काउनु पर्ने कुरा उठाउ ।
(५)अपर कर्णाली सबैभन्दा सस्तो लागतको आयोजना हो । भारतीय कंपनीसंग भएको सो संझौता खारेज गरि आफै बनाउने कुरा उठाउ ।
(६)टनकपुर बाँधका नाममा भारतले अतिक्रमण गरेको जमिनको टुंगो लगाउ ।
(७)कालापानीबाट भारतीय सेना हटाउनुपर्ने कुरा दृढताका साथ अगाडी राख ।
(८)नेपालभित्र आयात हुने सबै प्रकारका अपराध र राष्ट्रियतासंग संबन्धित समस्याको जड खुला सिमाना भएकोले सिमाना बन्द गर्ने प्रताव लैजाउ ।
(९)भारतीय भूमीको आडमा तराईमा हुँदै आएका अपराधिक गतिविधिहरु, साम्प्रदायीक तत्वहरुलाई त्यसले उक्साउँदै आएको यथार्थता, नेपालीहरुको हत्यामा भारतीय सुरक्षाकर्मीहरु प्रयोग भैरहेको वास्तविकता (जमीम साह, फैजान अहमद र यूनूस अन्सारी घटनाहरु) र सिमा क्षेत्रमा भारतीय सशस्त्र शक्तिले गर्दै आएका अपाराधिक कृयाकलापहरुका बारेमा विरोध जनाउ ।
(१०)भारतले एकलौटी रुपमा तयार पारेका १८२ थान नक्कलि सिमा नक्साहरु अस्विकार गरि अन्तर्राष्ट्रिय सुपरिवेक्षणमा जंगबहादुर र अंग्रेजहरुका बीचमा भएको सिमा संझौता अनुसार नयाँ ढंगले सिमाङकन गर्ने कुरा उठाउ ।
(११)मोहन सम्शेरले गरेको सन्र १९५० को अपमानजनक संधि खारेज गरि आपसि सम्मान र समानताका आधारमा नयाँ मैत्रीसंधि गर्नुपर्ने प्रस्ताव लैजाउ ।
(१२)भारतद्वारा प्रस्तावित सुपुर्दगी सन्धि र बाबुरामको प्रयासमा लागु गर्न खोजिएको एयार मार्शल राख्ने प्रस्तावलाई इन्कार गर ।
(१३)कथित पाकिस्तानी आइएसआइको गतिविधिको बहानामा तराइमा सञ्चालित मदरसाहरु बन्द गराउने भारतीय षडयन्त्र अस्विकार गर ।
अब कसैसंग गरिने संधिसंझौताहरु बहुपक्षिय आधारमा मात्र गर्ने नीति अगाडी बढाउ ।
हामीले आफ्नो देशका लागि यत्ति जायज कुराहरु उठाएका हौं । यी कुराहरु गलत हुना् भने बहसमा आउ । बहसमा पनि खुलेर नआउने र पर्दाभित्र चलखेल गरेर पैसा खाने कुनियत मात्र हो भने त्यो नेपालीहरुलाई स्विकार्य हुँदैन । आफ्ना भाटहरुलाई प्रयोग गरेर दिल्लीले मनपरि गर्न खोज्छ भने त्यसको विस्तारै परिणाम पनि त्यसले भोग्नु पर्नेछ ।