चीनमा ६.८ म्याग्निच्युडको भुकम्प : चीनमा ९५ जनाको मृत्यू , नेपालमा ६ घर भत्किए

२०८१ पुष २३ गते, मंगलवार


काठमाडौँ । आज बिहान तिब्बतको सिगात्से सहर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी चीनमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट ज्यान जानेको संख्या ९५ पुगेको उल्लेख गरेको छ । चिनियाँ सञ्चारमाध्यमले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएका छन् ।
यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् । उनले सम्भावित थप क्षति रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापित गर्न र घटनापछिको कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न निर्देशन दिए । सीले भनेका छन्- ‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन्न गर्न, प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न र सबैको सुरक्षित तथा न्यानो जाडो सुनिश्चित गर्न आवश्यक छ ।’
यता, नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय) मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
उक्त भूकम्पका कारण नेपालका पूर्वी पहाडी जिल्लाका केही स्थान प्रभावित भएका छन् । भूकम्पकाकारण ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित भएका छन्।
भूकम्पका कारण कोशीका पहाडी जिल्लामा अहिलेसम्म ६ वटा घर भत्किएको जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्‍याएको छ ।
यता बारामा भूकम्पको धक्का गएपछि भाग्नेक्रममा एक दर्जन विद्यार्थी बेहोस भएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंमा पनि भूकम्पबाट भाग्नेक्रममा एक व्यक्ति घाइते भएका छन् । उनी डेढ तले घरको छतबाट हामफालेर भाग्न लाग्दा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]