सार्वजनिक यातायातको भाडा वृद्धि

२०८१ पुष २३ गते, मंगलवार

काठमाडौँ । यातायात व्यवस्था विभागले देशभर यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडादर बढाएको छ । विभागले यात्रुबाहक सवारी साधनको ३ दशमलव ३० प्रतिशतले बढाएको हो ।विभागले पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा शून्य दशमलव ८१ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा शून्य दशमलव ०५ प्रतिशतले बढाइएको जनाएको छ ।
दुई वा सोभन्दा बढी प्रदेश हुदै सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको तर्क छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले यही पुस ११ गते भाडादर बढाउन सहमति दिएपछि विभागले भाडादर बढाएको हो । डिलक्स यात्रुबाहक सवारी साधनलाई भने तोकिएको भाडादर भन्दा २० प्रतिशत बढी लिन छुट दिइएको छ ।
विभागले सोमबार सार्वजनिक यातायातको भाडा बढाउँदै सार्वजनिक यातायात व्यवसायीले पालना गर्नुपर्ने नियम समेत स्मरण गराएको छ । जसमा यात्रा सुरु गर्नु अगाडि सबै यात्रुलाई अनिवार्य भाडा रकम र स्थान उल्लेख गरी टिकट जारी गर्नुपर्ने समेत राखिएको छ ।
विभागले भनेको छ- ‘भाडामा सहुलियत दिनुपर्ने उल्लेखित वर्गलाई सहुलियत दिँदा निश्चित रुट, कोटा संख्या, दिन र समय नतोकी यस व्यवस्थाको पूर्ण रूपमा परिपालना गर्नुपर्नेछ ।’ सहुलियत पाउने वर्गले आफ्नो सक्कल परिचयपत्र देखाइ सहुलियत लिनुपर्नेछ ।
डिलक्स स्तरीय सेवा सञ्चालन गरी थप भाडा लिने बस/मिनी बस, माइक्रो, जीपले अनिवार्य रूपमा विभाग अन्तर्गतका सवारी परीक्षण कार्यालयबाट स्तर निरीक्षण गराउनु पर्ने भएको छ । साथै सवारी दर्ता किताबमा प्रमाणित गराएपछि मात्र भाडा लिन पाउने व्यवस्था अनिवार्य गरिएको छ ।
लामो दुरीका रात्रि बसमा घटीमा दुई जना चालक अनिवार्य राख्नु पर्ने भएको छ । दुर्घटना न्यूनीकरणमा ध्यान दिनु पर्ने समेत सर्तमा उल्लेख छ ।
यातायात सेवा सञ्चालन गर्दा स्वच्छ तथा प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गर्नुपर्ने भएको छ । तोकिएको भन्दा बढी भाडा लिएको भेटिएमा कारपाही हुने भएको छ । कर समयमा तिर्नुपर्ने र भाडादरको सूचना यात्रुले देखिने गरी राख्नु पर्ने समेत सूचमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु