नेवानि सुधार्न ४ सदस्यीय अध्ययन समिति गठन

२०८१ पुष २५ गते, बिहीबार

काठमाडौँ । अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गर्न ४ सदस्यीय अध्ययन समिति गठन गरेको छ। बिहीवार बसेको समितिको बैठकले शिशिर खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगश गौचन थकाली, सुनिता बराल छन्।
समितिका निर्णयबारे जानकारी गराउँदै समितिका सभापति राजकिशोर यादवले नेपाल वायुसेवा निगम अध्ययन समितिले एक महिनाभित्र प्रतिवेदन पेश गर्ने बताए। उनले भने- ‘नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी १ महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन समिति निर्माण भएको छ। छिरिङ ल्हामु लामा, योगश गौचन थकाली, सुनिता बराल समावेश सो समितिलाई एक महिनाको समय दिइएको छ। क्यानको बारेमा पनि उपसमिति बनाएर जानेछौँ।’
यसैगरी, उक्त बैठकले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीनै क्षेत्रको वृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन निर्देशन दिएको छ।
विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातिय र धार्मिक संग्रहालयहरु निर्माणलाई तीव्रता दिइ पर्यटन प्रवर्द्धनमा जोड दिन पनि निर्देशन दिएको छ।
मन्त्रालयअन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवं निकायहरुको उपलब्धि र प्रभावकारिताबारे अध्ययन गरी सोको जानकारी समितिलाई उपलब्ध गराउन, पुरातात्विक सम्पदा उत्खननलाई नियमित, मितव्ययी र परिणाममूलक बनाइ कार्य सम्पादनमा जोड दिन र भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागि संबद्ध निकायबीच सम्झौता, समन्वय र पहलकदमी लिन पनि पर्यटन मन्त्रालयलाई समितिले निर्देशन दिएको छ।
समितिले नेपाल वायुसेवा निगमको व्यावसायिक योजना पूर्ण कार्यान्वयनमा ल्याइ सोको प्रगति समय समयमा समितिमा पेश गर्न र राष्ट्रिय महत्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अति आवश्यक निर्माणाधीन निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण शीघ्र अघि बढाउन सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।
पर्यटन क्षेत्र प्रवर्द्धन गर्न बजारीकरण योजनासहित राजनीतिक कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ।
समितिले देशका विभिन्न जिल्लामा रहेका वायुसेवा निगमको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संसाधनहरुको उपयोग, योजना निर्माण गरी यथाशिघ्र कार्यान्वयन गर्ने र सोको जानकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु