अमेरिका आगलागी : ११जनाको मृत्यु , ३६ हजार एकड जग्गा खरानी

काठमाडौँ । अमेरिकाको लस एन्जलस काउन्टीमा आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छभने आगलागीले गर्दा कूल ३६ हजार १७१ एकड जमिन नष्ट भएको छ ।
स्थानीय समय अनुसार शुक्रबार दिउँसो जारी गरिएको अपडेटमा, मेडिकल परीक्षकले पालिसेड्स आगलागीमा पाँच जना र इटन आगलागीमा छ जनाको मृत्यु भएको बताए ।
मृत्यु हुनेमा हालसम्म तीन जनाको मात्रै सनाखत भएको छ । लस एन्जलसका पाँचवटा क्षेत्रमा फैलिएको आगोलाई नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले निरन्तर काम गरिरहेका छन् । पालिसेड्समा २० हजार एकडभन्दा बढी जमिन प्रभावित भएको छ र हालसम्म आठ प्रतिशत मात्र आगो नियन्त्रणमा आएको छ ।
इटनमा फैलिएको आगलागीबाट करिब १४ हजार एकड क्षेत्रफल जलेर खरानी भएको छ र यहाँ तीन प्रतिशत आगो नियन्त्रणमा आएको छ । लिडियामा ७५ प्रतिशत आगो नियन्त्रणमा आएको छ, जहाँ चार सय एकड जमिन प्रभावित भएको छ । हर्ष्टमा ७७१ एकड क्षेत्रफल जलेको छ र ३७ प्रतिशत आगो नियन्त्रणमा आएको छ ।
केनेथमा एक हजार एकडभन्दा बढी जमिनमा फैलिएको आगो फैलिनबाट रोकिएको छ र हालसम्म ३५ प्रतिशत आगो नियन्त्रणमा आएको छ ।