कारागारबाट भागेका बुढाथोकी १४ वर्षपछि पक्राउ

काठमाडौँ । डिल्लीबजार कारागारबाट भागेका ओखलढुंगाको लिखु गाउँपालिका–२ घर भएका ४५ वर्षीय पेशलराज बुढाथोकी १४ वर्षपछि पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोंगबुबाट बुधबार पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले १९ साउन २०६६ मा ३ वर्ष कैद र ३ लाख जरिवाना सुनाएको थियो । फैसला भएपछि २५ फागुन २०६६ मा पक्राउ परेर कारागार चलान भएका उनी २९ साउन २०६७ मा कारागारबाटै फरार भएका थिए । विदेश पठाउने भन्दै अन्जु महर्जन र सरस्वती मगरलाई ठगी गरेपछि उनीहरुले बुढाथोकीविरुद्ध जाहेरी दिएका थिए ।