राष्ट्र बैंकको सम्पत्ति २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँले बढ्यो !

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा नेपाल राष्ट्र बैंकको सम्पत्ति २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँले बढेको छ । गत असार मसान्तमा २० खर्ब ६७ अर्ब २ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति चालु आर्थिक वर्षको ६ महिनामा बढेर २३ खर्ब ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो । राष्ट्र बैंकले यस अवधिमा विदेशी ऋणपत्र, विदेशी बैंकमा राखेको निक्षेप र सुनको प्रमाणपत्रमा लगानी बढाएको छ । गत असारमा ११ खर्ब २७ अर्ब ७४ करोड रुपैयाँ रहेको विदेशी ऋणपत्रको लगानी पुस मसान्तसम्म १२ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । विदेशी बैंकको आवाधिक निक्षेप ५ खर्ब ९८ अर्ब ५१ करोड रुपैयाँबाट बढाएर ६ खर्ब ९१ अर्ब ९७ करोड रुपैयाँ पुर्याएको हो । त्यस्तै, सुनको प्रमाणपत्रको लगानी गत असार मसान्तमा ८३ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्म बढेर ९५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकको विदेशी मुद्रोको सम्पत्ति २२ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ र स्वदेशी मुद्राको सम्पत्ति १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ छ । राष्ट्र बैंकले नेपाल सरकारको ऋणपत्रमा २३ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ । पुस मसान्तसम्म नेपाल राष्ट्र बैंकको सञ्चित नाफा तथा जगेडा ८ अर्ब ३५ करोडले बढेर ६२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।