अबैध हतियार बुझाउने म्याद साउन मसान्तसम्म

२०७१ श्रावण १४ गते, बुधबार


काठमाडौं, १४ साउन । व्यक्तिले बिनाइजाजत राखेका हतियार साउन मसान्तभित्र नबुझाए प्रहरीले कानुनी कारबाही थाल्ने भएको छ ।अवैध हतियार सङ्कलनका क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङले हतियार बुझाउन दिइएको अन्तिम समयसम्म पनि नबुझाउनेलाई कानुनको दायरामा ल्याइने भएको हो ।प्रहरीले पछिल्लो पटक साउन मसान्तभित्र हतियार बुझाउनका लागि समय तोकेको छ । अघिल्लो वर्ष पनि अवैध हातहतियार सङ्कलनको अभियान चलाएको प्रहरीले लक्षित गरेअनुसारको सङ्ख्यामा हातहतियार सङ्कलन नभएपछि पुनः बुझाउन आग्रह गरेको हो ।सार्वजनिक सूचनामार्फत अवैध हातहतियार बुझाउन आग्रह गरिएको र हतियार राखेका व्यक्तिले जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन सक्ने प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।“यसअघि पनि सङ्कलन अभियान चलेको हो, पर्याप्त सूचना नपुग्दा पनि सङ्कलनमा कमी आएको हुनसक्छ”– प्रनाउ बस्नेतले भने –“कतिपयले अनुमति लिएर राखेको हतियार नवीकरण नगरेको पनि हुनसक्छ, तर हामी अब सबैलाई कडाइ गर्छौं ।”
उनका अनुसार जिल्लामा सयौँको सङ्ख्यामा त्यस्ता अवैध हातहतियार रहेको अनुमान छ । गत वर्ष ३०० भन्दा बढीको सङ्ख्यामा त्यस्ता हतियार प्रहरीमा बुझाएको थियो । साउन महिनाभित्र हातहतियार नबुझाउने व्यक्तिलाई हातहतियार तथा खरखजना ऐनअन्तर्गत कारबाही चलाउने उनले बताए ।
उक्त ऐनले अवैध हातहतियार राख्ने व्यक्तिलाई एक लाख जरिवाना र पाँच वर्षसम्मको कैद सजाय हुने व्यवस्था गरेको छ । हतियार बुझाउन ताकेको समयावधि सकिएपछि प्रहरीले खोजी कार्यलाई अघि बढाउने भएको छ ।प्रहरीले अहिले पनि हातहतियार राखेका शङ्कास्पद व्यक्तिहरूको सूचना र लगत राख्ने काम गरिरहेको छ । सोही आधारमा पछि खोजी कार्यलाई अघि बढाइने छ । अवैध रूपमा राखिएका हातहतियारले सामाजिक सुरक्षामा खलल पुग्नुका साथै तथा अपराधजन्य घटना बढ्ने भएकाले प्रहरीले त्यस्ता हतियारहरू नियन्त्रणमा लिन थालेको प्रनाउ बस्नेतले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु