सरकार भ्रष्टाचारीको संरक्षक !

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारीहरुलाई सरकारले नै संरक्षण गरेको बताएको छ । शनिवार सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय सुनाउँदै सो पार्टीका महासचिव घनश्याम भुषालले भ्रष्टाचारीहरुलाई सरकारले नै संरक्षण गरेको बताए ।
उनले सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको र लाखौँ जनताले सहकारी राखेको बचत डुबेको बताए ।
महासचिव भुषालले त्यस्ता भ्रष्ट तथा ठगहरुलाई नियन्त्रणमा लिइ अविलम्ब कडाभन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रीय कमिटीले गरेको बताए । उनले भने- ‘मुलुकमा भ्रष्टाचार मौलाएको छ। भ्रष्टाचारीहरु सरकारबाटै संरक्षित भएका छन्। सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गरिब जनताको जीवन कष्टकर हुँदै गएको छ। लाखौँ जनताले सहकारी राखेको बचत डुबेको छ। त्यस्ता भ्रष्ट तथा ठगहरुलाई नियन्त्रणमा लिए अविलम्ब कडाभन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्दछौँ।’
महासचिव भुषालले मुलुकमा रोजगारीको अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको भन्दै यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको बताए। उनले समग्र अर्थतन्त्रको पुनःगठन नगर्दासमम टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन नसक्ने निष्कर्ष पार्टीको रहेको बताए। उनले भने- ‘मुलुकमा रोजगारीको अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ। यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको छ। समग्र अर्थतन्त्रको पुनःगठन नगर्दासमम टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन सक्दैन। राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गर्दछ।’