महालेखापरीक्षकको कार्यालयमा बेरुजुका चाङ

काठमाडौँ । महालेखा परीक्षक तोयम रायले कार्यालयमा दुई लाख पृष्ठभन्दा बढी बेरुजुका चाङ रहेको बताएका छन । बिहीबार महालेखा परीक्षकको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महालेखा परीक्षक रायले जनप्रतिनिधि मुलक संस्था संसदलाई बेरुजुको वार्षिक प्रतिवेदन बुझाउने गरेको जानकारी दिंदै कतिपय कानुनको त्रुटिका कारणले पनि बेरुजु हुने बताए ।
उनले गत आर्थिक वर्षमा भएको बेरुजु र सम्बन्धित मन्त्रालयमा हालसम्म भएका बेरुजुको प्रतिवेदन हरेक वर्ष बुझाउने गरेको जानकारी दिंदै गत आर्थिक वर्ष ७४६ वटै स्थानीय तहमा भएका बेरुजु कम्युटर प्रणालीबाट सार्वजनिक गरिएको बताए ।
महालेखा परीक्षक रायले सरकारले नीतिमा कार्यक्रम राख्ने तर बजेट नछुट्याउने गर्दा पनि त्यो बेरुजुमा जाने बताउदै कतिपय नीतिहरुमा बजेटको व्यवस्था गरेर पनि सञ्चालन नहुने र कार्यक्रम सञ्चालन नहुँदा सम्बन्धित नागरिकले सेवा नपाउने मात्रै नभइ लेखा परीक्षणमा पनि चुनौतिको विषय भएको बताए ।
महालेखा परीक्षक रायले प्रतिवेदन सार्वजनिक गर्ने शिलशिलामा आफूलाई कतैबाट पनि दबाब नआएको दावी गर्दै महालेखा परीक्षकको कार्यालयले तयार पारेको मन्त्रालयगत लेखापरीक्षणको सम्पूर्ण प्रतिवेदन पनि कम्युटर सिस्टमबाट सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।