फर्किए मोदी

२०७१ श्रावण १९ गते, सोमबार


काठमाडौं। नेपालको दुइदिने भ्रमण पूरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज अपरान्ह स्वदेश फर्किएका छन् । अपरान्ह साढे पाँच बजे मोदी भारतीय वायुसेनाको विशेष विमानबाट स्वदेश फर्किएका हुन् ।प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीलाई त्रिभुवन विमानस्थलमा बिदाई गरेका थिए । त्यसअघि नेपाली सेनाले मोदीको सम्मानमा सलामी दिएको थियो ।
यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले मोदी बसेको होटेल हायातमा भ्रमणबारे पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री मोदीको नेपाल भ्रमण अत्यन्तै सकारात्मक भएको टिप्पणी गरे । भ्रमणले नेपाल–भारतबीच नयाँ सम्बन्धको सुरुआत भएको उनको दाबी थियो ।
प्रवक्ता अकबरुद्दिनले सरकार तथा विभिन्न दलका नेताहरुले भारतीय प्रधानमन्त्रीलाई नेपालको भूमि भारत विरोधी गतिबिधिमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।
एमाओवादी नेता डा. बाबुराम भट्टराईलगायत अन्य दलका नेताहरुले नेपाल-भारतबीचका थुप्रै आयोजनाहरु अपुरो रहेको सन्दर्भ उठाएको भन्दै अकबरुद्धिनले प्रधानमन्त्री मोदीले एक–एक गरी ती आयोजनाहरु कार्यान्वयन हुने आश्वासन दिएको जानकारी पनि गराए ।साथै मोदीले नेपालका नेताहरुलाई पार्टीको हितमा नभइ देशको हितमा काम गर्न सुझाव दिएको जानकारी पनि उनले दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु